arrow

आन्तरिक राजश्व विभागले चैतमा मात्रै उठायो ५७ अर्ब राजश्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
antarik-rajaswa-bibhag-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आन्तरिक राजश्व विभागले एकै महिना ५७ अर्ब राजश्व संकलन गरेको छ । विभागले चालु आर्थिक वर्षको चैत महिनामा ५७ अर्ब ५ करोड राजश्व उठाएको हो । यो रकम अघिल्लो आर्थिक वर्षको सोही महिनामा २ अर्ब रुपैयाँ बढी हो । पोहोरको चैतमा ५५ अर्ब ५ करोड राजश्व संकलन भएको थियो । 

विभागले संकलन गरेको उक्त राजश्वमध्ये आयकर अन्तर्गत ३३ अर्ब १३ करोड, मूल्य अभिवृद्धि कर अन्तर्गत ११ अर्ब ८६ करोड र अन्तशुल्क ९ अर्ब ६० करोड रहेको छ । यसैगरी, ब्याज करबापत १ अर्ब ३५ करोड, घरबहाल कर १ अर्ब ८८ करोड, स्वास्थ्य सेवा शुल्क ६० करोड र शिक्षा सेवा शुल्क ३० करोड रुपैयाँ असुल भएको छ ।

योसँगै विभागले चालु वर्षको ९ महिनामा ३ खर्ब ६७ अर्ब ९९ करोड राजश्व संकलन गरेको छ । यो रकम  सरकारको अघिल्लो वर्ष संकलित रकमको तुलनामा ९.१४ प्रतिशत बढी हो भने चालु आवको लागि लिएको लक्ष्यभन्दा २१।३७ प्रतिशत कम हो । सरकारले यो अवधिमा ४ खर्ब ६८ अर्ब असुल गर्ने लक्ष्य लिएको थियो । 

यो अवधिमा आयकर, ब्याज कर, मूल्य अभिवृद्धि कर, शिक्षा सेवा शुल्कमार्फत् संकलित राजश्व बढ्दा घरबहाल कर, अन्तशुल्क, स्वास्थ्य सेवा शुल्क संकलन घटेको देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ