arrow

अन्तरपालिका नगर बस सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
Baglung-hamrakura.jpg.jpeg
तस्बिर-फाइल

बागलुङ । पश्चिम बागलुङका चार पालिकाले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने भएका छन् । जिल्लाको गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएका हुन् ।

गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको पातिहाल्नेसम्म अन्तरपालिका साझेदारीमा नगर बस सञ्चालन गरिने बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । 

नागरिकको सहजताको लागि करिब ६५ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रमा नगर बस सञ्चालन गर्ने गरी तयारी गरेको अध्यक्ष थापाले बताए । आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने गरी पहिलो चरणमा दुई वटा बस खदिर गरेर सञ्चालन गरिने उनको भनाइ छ ।

अध्यक्ष थापाले भने, “चार वटा पालिकाका जनप्रतिनिधि बसेर छलफल गरी सकेका छौँ, अब छिट्टै बसको लागत स्टिमेट तयार गरी खरिद प्रक्रियामा अगाडि बढ्ने छौँ, चार वटै पालिकाको निर्णयअनुसार नै नगर बस सञ्चालन गरिने भएको हो, पहिलो चरणको छलफल गरेर एउटा निचोड निकाल्ने गरि तयारी थालेका छौँ, सबै पालिकाका जनप्रतिनिधि सकारात्मक हुनु भएको छ ।”

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले अन्तरपालिका नगर बस सञ्चालन गर्नका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको बताए । 

कार्यदलको प्रतिवेदनअनुसार नगर बस सञ्चालनको कामलाई अगाडि बढाइने प्रमुख गरैको भनाइ छ । नगर बस सञ्चालनमा आए सार्वजनिक सवारी साधानको भन्दा भाडा दर कम हुने र नागरिकलाई सहज हुने प्रमुख गैरे बताउछन् ।

बस सेवा सञ्चालनमा आए विद्यार्थी, ज्येष्ठ नागरिक, कर्मचारीलाई विशेष छुटको व्यवस्था हुने बताइएको छ । 

नगर बस सञ्चालन बागलुङमा पहिलो पटक हुने भएको हो । नगर बस सेवाले बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानादेखि घोडाबाँधेसम्मका नागरिकले सेवा लिन पाउने छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ