arrow

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
dolprasad-aryal-12-25.jpg
तस्बिर-फाइल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेपनि देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट ट्रेड युनियनका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सृजना हुन नसकेकाले श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर रहेको बताए ।

मन्त्री अर्यालले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका लागि केही कानुनी व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे । 

सरकारले उनीहरूको हकअधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियनसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा युनियनका अध्यक्ष विष्णु लम्सालले श्रम बजारमा वार्षिक पाँच लाखभन्दा बढी श्रमशक्ति थपिने गरेको बताउँदै मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न आग्रह गरे ।

औपचारिक क्षेत्रमा करिब पाँच प्रतिशत र अनौपचारिक क्षेत्रमा ९५ प्रतिशत श्रमशक्ति कार्यरत रहेको जनाइएको छ ।

सो अवसरमा युनियनका प्रतिनिधिमण्डलले श्रम बजार वृद्धि, श्रमिकको सेवासुविधालगायत विषयमा मन्त्री अर्याललाई ध्यानाकर्षण गराएको थियो ।



नयाँ