arrow

युद्धपछि प्यालेस्टिनी जीडीपी २७ प्रतिशतले सङ्कुचित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २१ शुक्रबार
gaza-israel-palestine-AFP.jpg
तस्बिर – फाइल ।

वासिङ्टन । सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र २६ दशमलव नौ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले बिहीबार जारी गरेको नयाँ मूल्याङ्कनले जनाएको छ । 

पश्चिम एसियाका लागि आर्थिक र सामाजिक आयोगका साथ जारी अनुमानले प्यालेस्टिनी गरिबी दर बढेर ५८ दशमलव चार प्रतिशतसम्म पुग्ने देखाएको छ । 

दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रमणपछि युद्ध सुरु भएको हो । इजराइली आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको मृत्यु भएको थियो ।

हमासद्वारा सञ्चालित क्षेत्रमा स्वास्थ्य मन्त्रालयका अनुसार हमासको अन्त्य गर्ने वाचा गरेको इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ३४ हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ । 

गाजाको अधिकांश भाग भग्नावशेषको खैरो परिदृश्यमा परिणत भएको छ । “यो युद्ध जारी रहेको हरेक थप दिनले गाजावासी र सबै प्यालेस्टिनीहरूलाई ठूलो जटिल लागतको सामना गर्नुपरिरहेको छ”, यूएनडीपीका प्रशासक अचिम स्टिनरले विज्ञप्तिमा भने, “युद्ध हुँदा पनि गाजामा पीडा समाप्त हुँदैन भन्ने यो नयाँ आँकडाले चेतावनी दिएको छ ।”

उनले कम समयमा ठूलो मात्रामा नोक्सानीबाट उत्पन्न हुने ‘गम्भीर विकास सङ्कट’ को चेतावनी दिए । यूएनडीपीले युद्ध नौ महिनासम्म जारी रह्यो भने गरिबी युद्ध–पूर्वस्तरको दुई गुणाभन्दा बढी हुने अपेक्षा गरिएको बताएको छ । उक्त समयमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गिरावट २९ प्रतिशतसम्म पुग्नेछ । 

अप्रिलको प्रारम्भमा प्रकाशित विश्व बैंकको रिपोर्टमा इजराइल–हमास युद्धबाट गाजाको महत्त्वपूर्ण पूर्वाधारमा करिब १८ अर्ब ५० करोड डलर नोक्सान भएको बताइएको छ । 

यो सन् २०२२ मा पश्चिम किनार र गाजाको संयुक्त आर्थिक उत्पादनको ९७ प्रतिशत बराबर थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ