arrow

गाउँमै पुगेर सीमा पास वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
sima-pas.jpg

दोलखा । दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई गाउँमै पुगेर जिल्ला प्रशासन कार्यालय दोलखाले सीमा पास उपलब्ध गराएको छ । 

केही हप्ताअघि मात्रै लप्चिका स्थानीय समाजसेवी फुुर्बाथार्के शेर्पाको एक टोलीले जिल्ला प्रशासन कार्यालयमा आई गोठालो जान सीमा पास माग गरेको थियो ।

सोही मागका आधारमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले लप्चिवासीलाई सीमा पासको प्रबन्ध गरेका हुन् । 

लप्चिका ३८ जना स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय दोलखाका शाखा अधिकृत विकल श्रेष्ठले घरमै पुगेर सीमा पास उपलब्ध गराएका हुन् । 

श्रेष्ठका अनुसार गाउँमा भेटिएसम्मका सबैलाई सीमा पास वितरण गरिएको छ । छुटेका केहीलाई जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने जानकारी दिए । 

सीमा पास वितरणसँगै लप्चिवासीको चीन प्रवेशमा सहज भएको छ । सीमा पास पाएपछि स्थानीयले खुसीयाली साटेका छन् ।

स्थानीय फुुर्बाथार्के शेर्पाले भने, “अब हामीलाई पारी चीनतर्फ जान सहज भयो । अब चौरीगाईं चराउन पनि सहज भएको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न राहत मिलेको छ ।”

सदरमुकाम चरिकोटबाट लप्चि पुुग्न दुुई दिन पैदल र एक दिन गाडीमा यात्रा गर्नुपर्छ ।

चीन सरकारले आफ्नो देशको सीमामा लप्चिका नागरिकलाई राज्यले तोकेको सीमा पास भए मात्रै प्रवेश दिने भनेपछि लप्चिका स्थानीयको दैनिकीमा समस्या भएको थियो ।

चीनतर्फ चौंरी चराउन समेत चिनियाँ प्रतिनिधिले पास मागेपछि सीमा पासको परिचयपत्र उपलब्ध गराइदिन प्रजिअ पोखरेल समक्ष आग्रह गरेका थिए । 

कोरोना महामारीपछि बन्द रहेको लप्ची-रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्या छन् ।

गएको दसैँमा नाका खुला हुँदा केही राहत भएको थियो । हाल आएर सीमा पास कारण देखाएपछि सीमा वारपार हुन सकेको  थिएन । 

लप्चिका स्थानीयहरु नाका पार गरी चौंरीगाइ चराउने मात्रै नभइ चीनतर्फ खर्कमा आलुुखेती गर्ने, बजारमा किनमेल गर्ने समेत गर्छन् ।

सदरमुकामबाट लप्चिमा एक केजी नुन हेलिकप्टरबाट लैजाँदा झण्डै रु दुई सय मूल्य पर्ने गर्छ । ३० किलोको एक बोरा चामल नौ हजारसम्म पर्ने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ