arrow

लहानमा ‘एक घर, एक झुल’ वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
lahan-nager.jpg
तस्बिर-फाइल

सिरहा । सिरहाको लहान नगरपालिकाले रामकुमार सारडा उमाप्रसाद मुरारका प्रदेशिक अस्पताल लहानमा भर्ना भएका बिरामीको लागि एक सय एक थान झुल वितरण गरेको छ । 

लामखुट्टेको टोकाइबाट थप रोगको शिकार बन्न नपरोस् भन्ने उद्देश्यले झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । 
“अहिले गर्मीको मौसम सुरु भएपछि लामखुट्टेको प्रकोप बढेको छ । यसको टोकाइबाट मानिस बिरामी पर्न थालेका छन् । एउटा रोगको उपचार गराइरहँदा लामखुट्टेको टोकाइबाट अरु रोग नलागोस् भनी नगरपालिकाका तर्फबाट झुल वितरण गरेका हौँ” नगरप्रमुख चौधरीले भने । झुल प्राप्त गरे पति अस्पतालका बिरामी र कुरुवाले खुसी व्यक्त गरेका छन् ।

आज नै नगरप्रमुख चौधरीले लामखुट्टेको प्रकोपबाट जोगाउन लहान-२४ डाँडाँ टोलका गरिब, विपन्न तथा दलित समुदायका एक सय २५ घर परिवारलाई नगरपालिकाका तर्फबाट झुल वितरण गरेका छन् । 

मङ्गलबार वडा नम्बर १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्न परिवारलाई झुल वितरण गरी नगरपालिकाले यहाँका २४ वटै वडामा पालैपालो ‘एक घर, एक झुल’ वितरण गर्ने लक्षका साथ अभियानको सुरुवात गरिसकेको छ । 

नगरपालिका भित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउँन र लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना अभिवृद्धि गर्न आफू लागि परेको नगरप्रमुख चौधरीले बताए ।

विगतमा लामखुट्टेको प्रकोप बढ्दा लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न नगरपालिकाले वर्षेनी कीटनाशक औषधि छर्ने काम गर्दै आएको थियो । कीटनाशक विषादीको प्रयोग प्रभावकारी नभएपछि अहिले नगरपालिकाले झुल वितरण अभियान सुरु गरेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ