arrow

कांग्रेसको संसदीय दलको बैठक

सभामुखको भूमिका तटस्थ भएन, जनहित विरोधी कार्यमा नलाग्न सरकारलाई कांग्रेसको चेतावनी [भिडियो]

सरकार सहकारीको रकम ठगी गर्नेलाई बचाउन लाग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
congress-parliament-81-1-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैर जिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ । शुक्रबार संसद भवन परिसरमा बसेको कांग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जनहित विरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको पनि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । 

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा बचत गरेको अर्बौंं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरू आफूहरूसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए । 

उनले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको बताए । उनले नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठन गर्न पुनः माग गर्ने निर्णय गरेको बताए । उनले संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिने भन्दै सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल वेला नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको ठहर कांग्रेसले गरेको बताए ।

उनले भने, ‘लाखौँ नेपाली नागरिकले सहकारी संस्थामा बचत गरेको अर्बौँ रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको र यस्ता अपराधजन्य कार्यमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछाने संलग्न रहेको विषय निरन्तर उठिरहेको छ । सहकारीका बचतकर्ताहरूले राखेको रकमको सुरक्षाको ग्यारेन्टी गर्न, बचत हिनामिना भई पीडित भएका बचतकर्ताहरूको रकम फिर्ता गर्न र हिनामिना, ठगीमा संलग्न माथि छानबिन गरी कारबाही गर्ने सुनिश्चितताको लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषय नेपाली कांग्रेससहित संघीय संसद्मा धेरै दलहरूले उठाइरहेका छन् । यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद बाहिर पनि गम्भीर रूपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ । नेपाल सरकार सहकारी ठगीबाट पीडित भएका नागरिक प्रति गैर जिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको यो बैठक ठहर गर्दछ । सरकार र सत्ता पक्षलाई जनहित विरोधी यस्ता कार्यमा नलाग्न चेतावनी दिन चाहन्छ । प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेला नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ ।’

प्रमुख सचेतक लेखकले संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्ने भन्दै सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न आग्रह गर्ने निर्णय गरेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ