arrow

सशस्त्रको केन्द्रीय स्टोरको आगलागी घटनामा दुई एसपीसहित सातलाई कारबाही सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
apf-store-room-fire-.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको घटनामा दुई एसपीसहित ७ जनालाई कारबाही सिफारिस गरिएको छ । 

उनीहरुको कमाण्ड कमजोर रहेको भन्दै  सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल नेतृत्वको आन्तरिक समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले कारबाहीको सिफारिस गरेको हो । 

‘छानबिन समितिले दुई जना सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ’, स्रोतले भन्यो । समितिको सिफारिसको आधारमा नम्बर–९ पशुपति बाहिनीमा कार्यरत एसपी अर्जुन खत्री र भण्डार महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको र उनीहरुको जवाफसमेत आइसकेको स्रोतले जनाएको छ । 

आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन समितिको निष्कर्ष छ । आगलागीको गन्ध र धुवाँ आउनासाथ तत्काल रेस्पोन्स गर्न नसकेको छानबिन समितिको निष्कर्ष रहेको छ ।

 ‘साँचो भण्डार महाशाखामा राखेको र नम्बर–९ पशुपति प्रसाद बाहिनीलाई सुरक्षाको जिम्मेवारी दिएको देखिन्छ, त्यहाँ रहेको सुरक्षा फौज समयमै परिचालन हुन नसकेको देखिन्छ’, स्रोतले भन्यो । 

बलम्बुस्थित स्टोरमा आगलागी शुरू भएको थाहा पाउनासाथ समन्वय गरेर ढोका खोल्ने र निभाउन प्रयास गरेको भएमा ठूलो क्षति रोक्न सकिने छानबिन समितिको निष्कर्ष छ । 

यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डार महाशाखाका ७ जना सुरक्षाकर्मी र नम्बर–९ बाहिनीका ११ जनालाई छानबिनको दायरामा ल्याएको थियो । 

१८ जनामध्ये त्रुटि देखिएका ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । चैत २६ मा भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भरतमणि पाण्डेको नेतृत्वमा समिति गठन गरिएको थियो । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्युटर इन्जिनियर सुस्मा श्रेष्ठ सदस्य थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ