- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ ।
मन्त्रालयले पत्रकार सम्मेलन गरी रोजगारीको खोजीमा रहेका व्यक्तिको रोजगारदातासमक्ष सहज पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको जनाएको हो ।
श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुआत मात्रै भएको र यसले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहजरुपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा मेलालाई जिल्ला, स्थायिन र वडासम्म पनि पुर्याउन सकिने बताए ।
श्रममन्त्री अर्यालले मेलामा रोजगारीको खोजी गरी रहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको बताए ।
उनले भने, “मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने, अवसरको कसरी पहिचान गर्ने भन्ने बिषयमा जानकारी पाउन सक्नेछन् । त्यसैगरी रोजगारीको लागि आवश्यक सीपको बारेमा पनि जानकारी पाउन सकिनेछन् ।”
मेला यही जेठ १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ ।
नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा डिजाइन गरिएको मेलाले रोजगार खोज्नेहरू र रोजगारदाताबीच मध्यस्थताको काम गर्ने जनाइएको छ ।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई जोड्ने पुलको रुपमो काम गर्ने श्रममन्त्री अर्यालको भनाई छ ।
मेलामा श्रमिकको सबै खालको समस्या समाधानका लागि सञ्चालन गरिएको श्रमाधान योजना, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायत विभिन्न खालका तालिम प्रदायक संस्थाको पनि सहभागिता रहनेछ । साथै मेलामा सबै तहका श्रमिकको आवश्यकता र रोजगारदाताको आवश्यकताको विषयमा छलफल गरिनेछ ।
सामी परियोजना, रेमी योजना, उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल च्याम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल व्यवसायी महासङ्घको पनि मेला स्टल राखिनेछ ।
मेला कोशी प्रदेशको विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा यही जेठ १७ र १८ गते सञ्चालन हुनेछ । मधेस प्रदेशको वीरगञ्जमा जेठ १९ र २० गते सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशको पोखरामा जेठ २१ र २२ गते सञ्चालन हुनेछ । लुम्बिनी प्रदेशमा बुटवलमा जेठ २३ र २४, कर्णाली प्रदेशमा वीरेन्द्रनगरको सुर्खेतमा जेठ २५ र २६, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते हुनेछ भने बागमती प्रदेशमा ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन हुनेछ ।