arrow

आयरल्यान्डले औपचारिक रूपमा दियो प्यालेस्टाइनी राज्यलाई मान्यता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । आयरल्यान्डले मङ्गलबार प्यालेस्टाइनी राज्यलाई मान्यता दिएको छ । साथै उसले ‘विश्वको कुरा सुन्न र गाजामा हामीले देखिरहेको मानवीय प्रकोप रोक्न’ इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग आग्रह गरेको छ । 

“आयरल्यान्डको यो निर्णय आशालाई जीवित राख्नका लागि हो”, आइरिस प्रधानमन्त्री साइमन ह्यारिसले मन्त्रिपरिषद् बैठकमा उक्त कदममा हस्ताक्षर गरेलगत्तै एक विज्ञप्तिमा भने, “हामीले शान्ति प्रक्रियाको अन्त्यमा प्यालेस्टिनलाई मान्यता दिन चाहेका थियौँ, यद्यपि हामीले शान्तिको चमत्कारलाई जीवित राख्नका लागि स्पेन र नर्वेसँग यो कदम चालेका छौँ ।”

तीन मुलुकको घोषणाप्रति इजरेली सरकारबाट क्रुद्ध प्रतिक्रिया आएको छ । ती मुलुकले हमासलाई अक्टोबर ७ को आक्रमणका लागि पुरस्कृत गरिरहेको इजरेलको तर्क छ । 

आफ्नो घोषणामा डब्लिनले प्यालेस्टिनलाई ‘सार्वभौम र स्वतन्त्र राज्य’ का रूपमा मान्यता दिएको र कूटनीतिक सम्बन्ध स्थापना गर्न सहमत भएको बताएको छ । घोषणामा प्यालेस्टाइनी प्राधिकरणको मुख्यालय रमल्लाहमा आयरल्यान्डको पूर्ण दूतावासका साथ आइरिस राजदूत नियुक्ति गरिने उल्लेख छ । 

“यो निर्णयले अगाडि बढ्नका लागि राजनीतिक मार्ग नै एक मात्र मार्ग हो भन्ने हाम्रो दृढ विश्वासलाई प्रतिनिधित्व गर्दछ”, आइरिस विदेशमन्त्री माइकल मार्टिनले भने, “यसले दशकौँदेखि इजरेली र प्यालेस्टाइनीहरूको जीवनलाई ध्वस्त बनाउने विस्थापन, अधीनता, अमानवीयकरण, आतङ्कवाद र मृत्युको चक्रलाई तोड्नेछ ।”

“स्थायी शान्तिको सम्भावना कहिल्यै यति खतरामा परेको छैन र हामीले हाम्रा समान विचार भएका साझेदारहरूसँग मिलेर दुई–राज्य समाधानको व्यवहार्यताको रक्षा गर्नका लागि काम गर्न आवश्यक छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ