arrow

विज्ञान र वैज्ञानिक अन्तर्राष्ट्रिय सम्मेलन कात्तिकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
camical-science.jpg

पाटन । विज्ञान र वैज्ञानिक अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करण आगामी कार्तिकमा गर्ने तयारी गरिएको छ । 

शास्त्रमा भएका वैज्ञानिक पक्षहरुलाई व्यवहारमा उतार्दै समाजमा स्थापित गराउने उद्देश्यका साथ दुई दिवसीय सम्मेलन गर्न लागिएको आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्री चैतन्य शारस्वत सभा, काठमाडौँका अध्यक्ष राममणि दास नेपालले जानकारी दिए ।

“विज्ञान र अध्यात्मको सम्बन्धका विषयमा आधारित रहेर २०८१ कात्तिक २४ र २५ गते अर्थात् सन् २०२४ को नोभेम्बर ९ र १० मा अन्तर्राष्ट्रियस्तरको विज्ञान र वैज्ञानिक सम्मेलन गर्ने तयारीमा छौं”, उनले भने, “अक्षरा विद्यालय, काँडाघारी, काठमाडौँमा सम्मेलन हुनेछ । भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, जर्मनीलगायतका देशहरुबाट वैदिक क्षेत्रमा प्रख्यात व्यक्तित्वको सहभागिताका साथै प्रस्तुतीकरण रहनेछ ।” 

सम्मेलनको तयारीका लागि भएको छलफलमा संहिताशास्त्री अर्जुन बाँस्तोलाले  कार्यक्रममा वैदिक वाङ्मयका बिषयमा चर्चा गर्दै विश्वमा शान्ति कायम गर्न वेदमा अपनाइएको विषयमा बहस हुने बताए ।

सम्मेलनको तयारीका लागि आज ललितपुरमा तयारी बैठक भएको थियो । बैठकमा डिएभी स्कुलकी प्रधानाध्यापक डा भुवनेश्वरी राव, अक्षरा विद्यालय, काँडाघारी, काठमाडौँकी निर्देशक अञ्जु भट्टराई, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा दीपेन्द्र पराजुलीलगायत प्रवुद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त सम्मेलनका लागि त्रिभुवन विश्वविद्यालय, सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान (सारा) अक्षरा स्कूल, डिएभी स्कुललगायतले समन्वय, सहकार्य र सहजीकरण गर्ने डिएभी स्कुलकी प्रधानाध्यापक डा भुवनेश्वरी रावले जानकारी गराए । उद्घाटन समारोहमा पाँच सय जनालाई सहभागी गराउने लक्ष्य राखिएको छ । तीन सय जना छलफल तथा बहसमा सहभागी हुने अनुमान गरिएको छ ।

शास्त्रमा भएका वैज्ञानिक पक्षहरुलाई व्यवहारमा उतार्दै समाजमा स्थापित गराउने उद्देश्यका साथ नेपालमा पहिलो पटक सन् २०१५मा डिएभी स्कुलमा र दोस्रो पटक सन् २०१७  अगष्ट १८ र १९ मा नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्मेलन भएको थियो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ