arrow

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १८ शुक्रबार
baglung-reeg-bheda.jpg

बागलुङ । अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् । सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिरपट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाई दिएको छ । यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन् ।

बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसान गोठ छाउनका लाग चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओड्ने दोछ्याउने विस्तारसहित यहाँ आइ पुगेका हुन् । रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन् । बुकी नउक्लिदासम्म उनीहरु यही बस्ने गर्छ । यति बेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन् । एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन् । तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन् । अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन् ।

यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेँसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन् । एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकै पटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिँदैन । त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन् । लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन् । जाडो र हिमपात छल्नका लागि गत मङ्सिरमा बँेसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन् । तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताए ।

छ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उनको भनाइ छ । यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउँछन्। अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ तिहार बेला मात्रै बेँसी झर्ने उनको भनाइ छ । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताए । लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ