arrow

ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
napi-office-dhalkebar-dhanusha.jpg

धनुषा । धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयको शुक्रबार राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुङ्गाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरे । 

दुवै कार्यालयमा जग्गासम्बन्धी कामकाज आजैदेखि सुरु भएको छ । राष्ट्रियसभा सदस्य ढुङ्गानाले सङ्घीयताको भावना अनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताएका छन् ।

कार्यालय सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका नागरिकलाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने छ । जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री यादवले ढल्केबरलगायत आसपासका पालिकाका नागरिकलाई जग्गासम्बन्धी कामकाज गराउनका लागि अब जनकपुर जानु नपर्ने बताए । 

मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले मालपोत र नापी कार्यालय सञ्चालनमा आएसँगै ढल्केबरमा इलाका प्रशासन कार्यालयको स्थापना गर्न जुटेको बताएका छन् । उनले कार्यालय सञ्चालनसँगै यहाँको व्यापार–व्यवसायमा वृद्धि हुने विश्वास व्यक्त गरे । 

ढल्केबर सञ्चालन भएको मालपोत र नापी कार्यालयले साबिकका गाविसहरु ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत हालका तीनवटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवा प्रदान गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ