arrow

दुगड ग्रुपको लापरबाहीले लामाबगरमा सुख्खा पहिरो, तामाकोशी तीन घण्टा थुनियो, स्थानीय त्रसित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
landslide-dohakha-dugad-.jpg

दोलखा । दुगड ग्रुपको लापरबाहीका कारण तामाकोशी नदी तीन घण्टाभन्दा बढी थुनिएको छ । दुगड ग्रुपको स्वामित्वमा रहेको नासा हाइड्रोपावरले दोलखाको बिगु गाउँपालिकास्थित ल्याप्चेखोलामा निर्माण गर्न लागेको हाइड्रोपावरका लागि अनावश्यक रुपमा पहरो विस्फोट गराउँदा सुख्खा पहिरो गएको हो । 

उक्त पहिरोका कारण तल्लो तटीय क्षेत्रका स्थानीय चिन्तित भएका छन् । शुक्रबार बिहान ११ बजे गएको उक्त पहिरोका कारण तामाकोशी नदी थुनिएको थियो ।  

पहिरोको सतहभन्दा माथि पानी पुगेपछि करिब ३ घण्टापछि नदी विस्तारै खुला भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी युवराज खड्काले जानकारी दिए । यो पहिरोले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ । 

उक्त हाइड्रोपावरले परियोजना स्थलसम्म पुग्न पहुँचमार्ग निर्माणको काम गरिरहेको छ । उक्त मार्ग निर्माणका लागि अनावश्यक ठाउँमा पनि विष्फोट गराएको स्थानीयवासीको आरोप छ । विस्फोटका कारण खुख्खा समयमै पहिरो जाने स्थितिमा मनसुन शुरु भएपछि के होला भनेर स्थानीयवासीहरु आत्तिएका छन् । 

अहिले नासा हाइड्रोपावरले १६० मेगावाट क्षमताको उक्त हाइड्रोपावर निर्माण गर्न लागेको छ । निजी क्षेत्रबाट भएको अहिलेसम्मकै ठूलो लगानी भन्दै प्रचार गरिएको हाइड्रोपावरले स्थानीयलाई भने सास्ती दिइरहेको छ । बिगु गाउँपालिका १ का वडा सदस्य वाइसल तामाङले तामाकोशी नदीको पानी धमिलिएर आएको बताए । 

त्यसो त हाइड्रोपावरको नाममा कम्पनीले गर्दै आएको प्राकृतिक दोहन गर्दै आएको छ । स्थानीय बस्तीभन्दा टाढा भएकाले स्थानीय बस्ती आयोजनाभन्दा टाढा छ । 

स्थानीयवासीले प्रत्यक्ष रुपमा नदेख्ने भएकाले झनै मनलाग्दी हुने गरेको सरोकारवालाहरु बताउँछन् । स्थानीय श्याम खतिवडा भन्छन्, ‘कहिले जंगल फडानी, कहिले कामदारको मृत्यु, ठाउँठाउँमा विशाल पहिरो, न अध्ययन न केही हद भयो । डिलपपारी कसैले देख्ने होइन, जे गरे पनि छुट हुन्छ भन्ने दुगडको घमण्डविरुद्ध प्रशासनिक निकायको ध्यानाकर्षण होस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ