arrow

नेपाली टिमलाई राष्ट्रपतिले गरे टेलिफोन, उच्च मनोबलसहित विश्वकप खेल्न शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २१ सोमबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न शुभकामना दिएका छन् । 

राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न शुभकामना दिएका हुन् । 

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथ मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको  छ । 

उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् । 

नेपालले पहिलो खेलमा मंगलबार राति नेदरल्याण्ड्ससँग खेल्दैछ । 

विश्वकपमा नेपाल

नेपालले भने १० वर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यसअघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जिते पनि बंगलादेशसँग पराजित हुँदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो । 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

१५ औँ खेलाडीका रुपमा सन्दीप लामिछानेलाई राखिएको दाबी गरिएको भए पनि उनलाई अमेरिकी दूतावासले भिसा नै नदिएपछि जान पाएनन् । काठमाडौँ जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी सावित भएका सन्दीपलाई उच्च अदालत पाटनले भने सफाइ दिएको थियो । 

सम्भवतः सर्वोच्च अदालतबाट उनले अझै सफाइ पाउन बाँकी रहेकाले अमेरिकाले भिसा नदिएको आँकलन गरिएको छ । यसअघि शुरुआती चरणमा उनीमाथि पक्राउ पुर्जी जारी भएपछि एक महिनापछिमात्र विदेशबाट फर्केका थिए । जसका कारण पनि उनको इमेज राम्रो छैन । 

टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

नेपालले जेठ २२ गते (जुन ४ तारिख) राति ९:१५ बजे नेदरल्याण्ड्ससँग, जेठ ३० गते (जुन १२ तारिख) बिहान ५:१५ बजे श्रीलंकासँग, असार १ गते (जुन १५ तारिख) बिहान ५:१५ बजे दक्षिण अफ्रिकासँग र असार ३ (जुन १७ तारिख) बिहान ५:१५ बजे बंगलादेशसँग खेल्ने कार्यक्रम रहेको छ । 

ग्रुप अफ डेथमा रहेको नेपालले दोस्रो चरणका लागि भरमग्दूर प्रयास गर्नेछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको हो । 

यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ