arrow

आईडीएको बैठक असार ४ देखि काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २८ सोमबार
world-bank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) २१ औँ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । 

आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आईडीएको २१औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपाल मध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । 

नेपालले ६ वर्षअघि आइडीए–१९ बैठक काठमाडौँमा गर्न डीसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लबिङ गरेको थियो । उद्घाटन, बन्द सत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । 

समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन हुनेछन् । अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन् । 

यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए । 

सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त  आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । 

आईडीएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ ।  यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । 

सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुशीको कुरा भएको बताए । उनले साझेदारहरुसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे ।
 
कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ । बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न श्रोतको सीमालगायत विषयमा छलफल हुनेछ । 

बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ । 

गत वैशाखमा सम्पन्न तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए । 

त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यायमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडीए बैठकबारे कुराकानी गरेका थिए । 

हरेक तीन वर्षमा हुने आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो । 

विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ