arrow

गर्मी बढेपछि घटे पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
Sauraha.jpg
तस्बिर-फाइल

चितवन । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । ‘काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न’, उनले भने ।

ट्टका अनुसार पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम हो । पर्यटक घट्नुको प्रमुख कारण गर्मी मौसम भएको उनको अनुमान छ ।

विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको भट्टले बताए । ‘भ्रमण वर्षलाई लक्षित गरेर यहाँ विभिन्न राष्ट्रियस्तरका सभा, सेमिनार तथा कार्यक्रम भएका छन् । जसले गर्दा हामी व्यवसायीमा केही आशा पलाएको छ’, उनले भने ।

जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष ध्रुव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताए । ‘हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन्’, उनले भने ।

यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उनले जानकारी दिए । उनले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताए ।

चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आएका पर्यटनकर्मी रमेश दवाडीले वर्षायाममा पर्यटक स्वतः घट्ने बताए ।

नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताए । ‘मनसुन सुरु हुन लागेको छ । अब बाढीको डर हुन्छ हामी निर्णय गरेर मोटरबोट बन्द गर्छौ ।’ उनले चितवनमा बाहिर हल्ला भए जत्तिको गर्मी नभएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ