arrow

नेपालमा लगानीको वातावरण बन्दै : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३० बुधबार
chandra-dhakal-zenava-iol-2027-fncci.jpeg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएकाले नेपालमा लगानी गरेर मुनाफा लिन विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा जारी ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका हुन्।

स्वीट्जरल्याण्डको जेनेभामा जारी सो सम्मेलनमा नेपालका रोजगारदाताहरूको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालका रोजगारदाताहरू श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा पनि जोड दिए।

सो सम्बोधनमा उनले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदाताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भारतसँग १० हजार मेगावाट बिद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह पनि गरे।

त्यसै गरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रय शक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरूमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उनको भनाई थियो।

अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्रहरू नेपालमा  लाभका क्षेत्र रहेको विश्वका लगानीकर्ताहरूलाई बताए।

लगानी सहरीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गीकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागीहरूलाई जानकारी गराए।

सो सम्बोधनमा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताहरूको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेको सो विज्ञप्तिमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ