arrow

भारतका चार वर्षीय बच्चामा बर्ड फ्लू पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३१ बिहिबार
bird-flu.jpg

काठमाडौँ । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव संक्रमण पुष्टि गरेको छ । 

भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए (एच–९ एन–२) को यो दोस्रो मानव संक्रमण हो । पहिलो सन् २०१९मा पुष्टि गरिएको थियो । संक्रमित बच्चा भने निको भई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

पश्चिम बङ्गालमा एभियन इन्फ्लुएन्जा भाइरसको मानव संक्रमणसम्बन्धी खबर डब्ल्यूएचओका भारतका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन अधिकारीबाट अधिसूचना प्राप्त गरेको डब्ल्यूएचआले प्रेस विज्ञप्तिमा जनाएको छ । 

श्वासप्रश्वासमा गम्भीर समस्या, बारम्बार उच्च ज्वरो र पेटमा ऐंठनका कारण बिरामीलाई स्थानीय अस्पतालको बाल स्याहार एकाइ (आईसीयू) मा भर्ना गरी उपचार सुरू गरिएको थियो । 

उनलाई फेब्रुअरी २८ मा अस्पतालबाट डिस्चार्ज गरिएको थियो तर श्वासप्रश्वासको गम्भीर कष्टको पुनरावृत्तिपछि उनलाई अर्को सरकारी अस्पतालको बाल आईसीयूमा भर्ना गरिएको थियो भने मार्च ३ मा उनलाई ट्युव राखेर औषधि दिने काम गरिएको थियो । 

विरामीको रगत तथा खकारको नमूनालाई कोलकाता भाइरस रिसर्च एन्ड डायग्नोस्टिक प्रयोगशालामा पठाइएको र त्यहाँको परीक्षणबाट उनलाई एच–९ एन–२ संक्रमण पुष्टि भएको हो । बिरामीलाई मे १ मा अक्सिजन सहयोगसहित अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

डब्लुएचओले संक्रमित बिरामी घर र वरपरको कुखुराको सम्पर्कमा आएका हुनसक्ने जनाएको छ । 

यद्यपि, यस संक्रमणसँग सम्बन्धित परिवार, छिमेकमा वा वा स्वास्थ्यकर्मीमा श्वासप्रश्वासको रोगको लक्षणका ज्ञात व्यक्तिहरू नभेटिएको उल्लेख गरिएको छ । 

विश्वव्यापी मार्ग निर्देशन अनुरूप मानव र पशु दुवै क्षेत्रमा प्राविधिक सल्लाह, जोखिम मूल्याङ्कन र आकस्मिक योजना अद्यावधिक गरेर भारत सरकारलाई निरन्तर सहयोग प्रदान गरिरहेको डब्लुएचओले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ