arrow

नेपालमा अवसरै अवसर छन्, आउनुहोस्, मिलेर लगानी गरौँ : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २ आइतबार
australia-nra-chandra-dhakal-fncci.jpg

सिड्नी। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।

नेपाल राष्ट्र बैङ्क, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैर आवासीय नेपाली सङ्घ, अस्ट्रेलियाको संयुक्त आयोजनामा अस्ट्रेलियाको सिड्नीमा शनिवार आयोजित "नेपालको अर्थतन्त्र, लगानीको सम्भावना र बैङ्किङ सेवाहरू" कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका असीमित सम्भावना  रहेको र लगानीको वातावरण पनि बन्दै गएकोले नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आग्रह गरेका छन्।

"गत महिना आयोजना भएको लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ। नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ। यी सबै सम्भावनालाई अवसरको रूपमा लिँदै नेपालमा लगानी गर्नुस् र यथोचित मुनाफा आर्जन गर्नुस्," उनले भने।

अध्यक्ष ढकालले नेपाल सरकारले हालै आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट वक्तव्यमा १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने विषय समावेश गरेको उल्लेख गर्दै यसलाई अवसरको रूपमा लिन र नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आग्रह गरे।

"नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा हामीले १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र मुलुकका सात वटै प्रदेशमा रहेका स्थानीय सम्भावित आयोजनाहरूमा लगानी गर्ने निर्णय गरेका थियौँ। त्यस कुरालाई नेपाल सरकारले आगामी वर्षको बजेटमा सम्बोधन समेत गरेको छ। यसलाई हामी सबै नेपालीहरूले एक अवसरको रूपमा लिएर  नेपालमा लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र मुलुकको आर्थिक विकास र समृद्धिमा हातेमालो गर्ने अवसरका रूपमा लिनुपर्छ," उनले भने।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआइ डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताए।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बोमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैङ्कले यसमा सहजीकरण गर्ने समेत बताएका छन्। 
उनले नेपाली बैङ्कहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताए।

उनले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा थप पुँजी जुटाउन ऋण लगानीका लागि समेत नेपाली बैङ्कहरू तयार रहेको उल्लेख गरे।

नेपाल राष्ट्र बैङ्क नेपालमा लगानी बढाउन हरतवरले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै उनले  यसमा नेपाल राष्ट्र बैङ्कले सहजीकरण गर्ने बताए।

ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपालमा लगानीका अवसर र सम्भावनाहरू निकै धेरै रहेको बताउँदै ती अवसरहरूलाई रियालिटीमा बदल्न सम्भावित आयोजनाहरू लिएर आएमा आवश्यक पर्ने पुँजी जुटाउन बैंकहरूले ऋण प्रदान गर्न सक्ने बताए।

नेपालको बैङ्किङ क्षेत्रमा लगानी योग्य पुँजी ठूलो मात्रामा रहेको बताउँदै उनले गैर आवासीय नेपालीहरूले नेपालको कुनै सम्भाव्य आयोजनामा लगानी गर्न इच्छुक रहेमा बैङ्कले सहयोग गर्ने बताए।

उनले ग्लोबल आइएमई बैङ्कले गैर आवासीय नेपालीहरूलाई बैङ्किङ प्रणाली मार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अष्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैङ्किङ सेवाहरू उपलब्ध गराउने बताए।

गैर आवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैर आवासीय नेपालीहरू नेपालमा लगानीका अवसरहरु खोजिरहेको बताए।

उनले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेमा धेरै नेपालीहरू लगानीका लागि इच्छुक रहने समेत उल्लेख गरे।

"अस्ट्रेलियामा रहेका हामी नेपालीहरू आफ्नो मातृभूमि नेपालमा लगानी गर्न हरेक हिसाबले इच्छुक रहन्छौ। कुनै न कुनै हिसाबले हामी नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौं। त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्छ" उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ