arrow

टेलिकममा ‘म्याच फिक्सिङ’, प्रबन्ध निर्देशक नियुक्तिमा चलखेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा व्यापक चलखेल भइरहँदा नेपालको सार्वजनिक संस्थानमध्येकै ठूलो र महत्वपूर्ण मानिने नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक नियुक्तिमा अर्को चलखेल भएको छ । नेपाल दूरसञ्चार कम्पनीको रिक्त प्रबन्ध निर्देशकका लागि खुला गरिएको आह्वानमा योग्यता निर्धारण परिवर्तन गरिएपछि चलखेल भएको देखिएको हो । 

टेलिकमले खुला प्रतिस्पर्धाबाट जेठ २२ गते नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि आवेदन खुलाएको थियो । उक्त आवेदन आह्वान गर्नुअघि प्रबन्ध निर्देशक नियुक्तिको योग्यतासम्बन्धी निर्देशिकामा परिवर्तन गरिएको छ । 

संशोधित निर्देशिकामा प्रबन्ध निर्देशकका लागि दरखास्त दिने उम्मेदवारको उमेर ५६ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइएको छ भने व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्थासमेत हटाइएको छ । 

उता प्रबन्ध निर्देशकको आवेदनका लागि सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ गरेकाहरुलाईसमेत खुला गरिएको छ । यसअघि यो पदका लागि वाणिज्यशास्त्र, व्यवस्थापन, अर्थशास्त्र, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक इञ्जिनियरिङ, टेलिककम्युनिकेसन इञ्जिनियरिङ वा कम्युटर इञ्जिनियरिङ विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने प्रावधान थियो । 

टेलिकमले २०७१ सालदेखि नै प्रबन्ध निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्दै आएको छ । सुरुमा प्रबन्ध निर्देशकको लागि उम्मेदवारको उमेर ५८ वर्ष नै तोकिएको थियो । तर, २०७८ सालमा आएको निर्देशिकाले उक्त व्यवस्था संशोधन गरेर ५६ वर्ष बनाइएको थियो । अहिले फेरि त्यसलाई बढाएर ५८ वर्ष बनाइएको छ । 

खासगरी टेलिकमको प्रबन्ध निर्देशकको नियुक्तिसम्बन्धी निर्देशिक संशोधन निश्चित व्यक्तिका लागि गरिएको छ । टेलिकममा कार्यरत विमल आचार्य र इन्जिनियर अनिलकुमार झामध्ये एक जनाका लागि गरिएको सम्बद्ध स्रोतको भनाइ छ । 

दुवैजना टेलिकममा हाल १० औँ तहका कर्मचारी रहेका छन् । यही निर्देशिका बमोजिम भए उनीहरुबाहेक अरुको नियुक्ति ‘म्याच फिक्सिङ’जस्तै रहेको स्रोतको भनाइ छ । 

अब नियुक्त हुने प्रबन्ध निर्देशकले नेपालमा फाइभजी भित्र्याउने भूमिका खेल्न सक्ने भएकाले टेलिकममा अब आउने नेतृत्व महत्वपूर्ण मानिन्छ । नेपाल धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेञ्ज, कमोडिटिज एक्सचेञ्ज र बुक बिल्डिङको आईपीओ स्वीकृतिमा चलखेल भएजस्तै यसमा फाइभजीको अर्बौंको ठेक्काको स्वार्थ लुकेको देखिन्छ । सञ्चारमन्त्री रेखा शर्माले यो कार्यको लागि आफ्नो अनुकुलको मान्छे ल्याउने यस्तो चलखेल गरेको स्रोतको भनाइ छ । 

टेलिकममा यसअघि प्रबन्ध निर्देशक रहेका सुनिल पौडेल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार गरेको आरोप प्रमाणित भएपछि उनी पदमुक्त भएका छन् ।

 त्यसपछि रिक्त ठाउँमा नयाँ नियुक्ति प्रक्रिया अघि बढेको हो । २०८० असोजमा पौडेललगायत ९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । त्यो समयदेखि अहिले संगीता पहाडी निमित्त प्रबन्ध निर्देशकको रुपमा कार्यरत छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ