रोकिएको सम्पत्ति फुकुवा गर्ने अडानले अमेरिका-इरान वार्ता जटिल मोडमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
208
Shares
काठमाडौँ ।संयुक्त राज्य अमेरिका र इरानबिच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै आफ्नो रोक्का रहेको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ। 'द जेरुसेलम पोस्ट' का अनुसार इरानले अरबौँ डलर बराबरको रोकिएको सम्पत्तिमध्ये नगद रकम सम्झौताको पहिलो चरणमै उपलब्ध गराउनुपर्ने माग राखेको छ। अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सहमति खोज्ने प्रयास गरे पनि पछिल्ला दिनहरूमा यसमा कुनै उल्लेखनीय प्रगति हुन सकेको छैन।
इरानी वार्ताकारहरूले कुनै ठोस कदम चाल्नुअघि नै पहिलो चरणमा रकम फुकुवा हुनुपर्ने अडान कायम राखेका छन् भने वाशिङ्टनले आणविक कार्यक्रम र होर्मुज जलमार्ग सम्बन्धी महत्त्वपूर्ण प्रगतिबिना कुनै आर्थिक सहुलियत नदिने स्पष्ट पारेको छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन्। ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निकट भविष्यमा सहमति सम्भव रहेको बताए। ट्रम्पले इरानको समृद्ध युरेनियम भण्डारलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन चाहेको पनि दोहोर्याए, जसलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता अमेरिका र चीनसँग मात्र रहेको उनको दाबी छ।
यसैबिच क्षेत्रीय सुरक्षा अवस्था भने थप तनावपूर्ण बनेको छ। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। गत अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो नै पहिलो घातक घटना हो। भारतको विदेश मन्त्रालयले मृतक नागरिक भारतीय रहेको पुष्टि गर्दै नागरिक पूर्वाधारमाथिको आक्रमणको निन्दा गरेको छ।
कुवेती रक्षा मन्त्रालयका प्रवक्ता साउद अब्दुलअजिज अल–अतवानका अनुसार ३० वटा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी उक्त आक्रमण गरिएको थियो, जसबाट विमानस्थल भवनमा ठूलो भौतिक क्षति पुगेको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले यस आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। आईआरजीसीले अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीमा आएको प्राविधिक खराबीका कारण उक्त क्षति भएको दाबी गरेको छ।
तर, अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमण असफल बनाइएको जनाएको छ। सेन्टकमका अनुसार कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यसम्म पुग्नुअघि नै निष्क्रिय पारिएका थिए भने बहराइनतर्फ लक्षित तीन मिसाइल अमेरिकी र बहराइनी सुरक्षाबलले आकाशमै अवरोध गरेका थिए।
क्षेत्रीय तनावका बाबजुद अर्को कूटनीतिक मोर्चामा भने सकारात्मक प्रगति भएको छ। अमेरिकी मध्यस्थतामा भएको पछिल्लो वार्तापछि इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न सहमत भएका छन्। संयुक्त वक्तव्य अनुसार युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन हिजबुल्लाहले आफ्ना सबै आक्रमण बन्द गर्नुपर्ने तथा दक्षिणी लेबनानबाट आफ्ना सबै लडाकुहरू हटाउनुपर्ने सर्त राखिएको छ। यो सहमति लेबनानमा सम्भावित सैन्य कारबाहीबारे इजरायलले कडा चेतावनी दिएपछि सम्भव भएको हो।
इरान–अमेरिका वार्ताको गतिरोध, खाडी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र इजरायल–लेबनानबिचको युद्धविराम प्रयासले समग्र मध्यपूर्वको राजनीतिक तथा सुरक्षा अवस्थालाई थप संवेदनशील र उतारचढावपूर्ण बनाएको विश्लेषण गरिएको छ।