arrow

विश्व बैंकका नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त, फारिस बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३ सोमबार
world-bank-david-sislen.jpg

काठमाडौँ । विश्व बैंकले  डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौँस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । 

अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट शहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत थिए । 

उनीसँग विश्व बैंकमा रहेर युरोप, ल्याटिन अमेरिका, अफ्रिका, पूर्वी एसिया र एसिया प्रशान्त क्षेत्रमा पूर्वाधार, शहरी विकास तथा प्रकोप जोखिम व्यवस्थापनसम्बन्धी प्रबन्धक भएर काम गरेको अनुभव छ । 

डेभिडले अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र म्याकलेस्टर कलेजबाट अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर गरेका छन् । नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नेछन् । विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ । 

निवर्तमान निर्देशक फारिस हदाद जर्भोसको कार्यकाल सकिएसँगै विश्व बैंकले डेभिडलाई नयाँ निर्देशकका रुपमा नेपाल पठाएको हो । 

अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको बिदाई र डेभिडको स्वागत गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र बिदाई गरे । 

देशीय निर्देशकसँगै विश्व बैंकले नेपालका लागि राष्ट्रिय प्रबन्धक पनि परिवर्तन गरेको छ । 

लाडा स्ट्रेलकोवा  कार्यकाल सकाएर फर्कन लागेकी छन् भने उनको ठाउँमा प्रिती अरोरा आएकी छन् । बिदाई कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने  उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागी थिए । 

कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गरे । फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास मन्त्री पुनको थियो । 

नेपालमा मंगलबारबाट सुरु हुने विश्व बैंकको आईडीए–२१ बैठकको पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपाल र विश्व बैंकबीचको सहकार्य आगामी दिनमा थप सुदृढ हुने अपेक्षा व्यक्त गरे । 

फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ थियो । 

उनले फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिका रुपमा मात्र नभई नेपालको हैतिसी मित्रका रुपमा भूमिका खेलेको उल्लेख गरे । नेपालमा विश्व बैंकको पोर्टफोलियोको विस्तार, वित्तीय, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको स्मरण गरे । 

यस्तै फारिसले विकास साझेदारहरुबीच समझदारी निर्माण, भूकम्पपछिको पुनःनिर्माण, कोभिड–१९ महामारीको समयमा आपतकालीन सहयोग र खोप कार्यक्रमहरु सञ्चालनका लागि खेलेको भूमिकाको सराहना गरे । 

अमेरिकी नागरिक फारिस ०७३ असारमा बैंकको नेपाल निर्देशकका रुपमा आएका थिए । त्यसअघि फारिस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ