arrow

मेलम्चीको खानेपानी

कहिलेसम्म आउँछ मेलम्चीको पानी काठमाडौंमा ? [भिडियो]

जति सक्दो बढी समय काठमाडौंमा पानी पठाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
melamchi-water.jpg

काठमाडौँ । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन शुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताए । 

उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गर्नुपर्ने अवस्था रहेको बताए । विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताए । 

तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने कार्यकारी निर्देशक लामिछानेले बताए । कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए । सबै सावधानीका उपायहरू अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताए । उनले मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको बताए । उनले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए ।

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने बताए । उनले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आयोजनाले हेडबक्स बन्द गर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ