arrow

आन्तरिक राजश्व विभागले जेठमा उठायो ४१ अर्ब १९ करोड राजश्व

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
antarik-rajaswa-bibhag-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आन्तरिक राजश्व विभागको जेठ महिना ४१ अर्ब भन्दा बढी राजश्व उठाएको छ । विभागको तथ्यांक अनुसार यो महिनामा ४१ अर्ब १९ करोड राजश्व उठाएको हो । यो राजश्व अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा ११.३० प्रतिशतको बढी हो । गत वर्ष जेठमा विभागले ३७ अर्ब रुपैयाँ मात्रै राजश्व उठाउन सकेको थियो ।

योसँगै चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजश्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजश्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । चालु आर्थिक वर्षको यो अवधिसम्म उठेको कुल राजश्व ४० अर्बले राजश्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए । 

यसमध्ये आयकर (भाडा र ब्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धि कर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तशुल्कबाट ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजश्व उठेको छ । 

हालसम्म कूल लक्ष्यमा राजश्व असुली ७८।५ प्रतिशत रहेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजश्व संकलनमा तीव्रता दिइने तिवारीले बताए । गत वर्षको सोही अवधिको तुलनामा राजश्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन । 

राजश्व संकलनमा करदाता कार्यालयहरुमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ । यो कार्यालयले १ खर्ब ७५ अर्ब राजश्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ । 

एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन् । कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजश्व संकलनमा कमी आए पनि चालु आबको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजश्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् । 

यस्तै अन्त शुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगत खर्च बढाएका कारण पनि राजश्व संकलनमा सकारात्मक प्रभाव परेको उनले जनाए । 

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष ०८०÷०८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजश्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए । कूल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई ५०÷५० प्रतिशत राजश्वको लक्ष्य दिइएको हुन्छ । 

लक्ष्यअनुसार राजश्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत १२ खर्ब २ अर्बको लक्ष्य निर्धारण गरिएको थियो । तर अहिलेसम्म अपेक्षित रुपमा राजश्व संकलन हुन सकेको छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ