arrow

थाई राजासमक्ष राजदूत ओलीले बुझाए ओहोदाको प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
thai-king-oli.jpg

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका राजा वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई राजाासँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई राजाको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए । 

उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताए ।

राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई राजालाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए ।

प्रत्युत्तरमा थाई राजाले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरे । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका थिए । 

ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित हुनुहुन्थ्यो ।

थाइल्याण्डमा कार्यभार सम्हाल्नुभएका राजदूत ओलीलाई स्वागत गर्दै थाई राजाले उनको कार्यकालको सफलताको कामना गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ