arrow

बेला विपद्को

पहिरोमा पुरिएर एकै घरका तीनसहित पाँच जनाकाे मृत्यु

बेँसीसहर-चामे सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
lamjung-pahiro.jpg

लमजुङ । लमजुङमा पहिरोमा पुरिएर एकै घरका तीनसहित पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा लमजुङको क्व्होंलासोथर गाउँपालिका वडा नं. ३ बगुम पच्युटोलका ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ छन् । 

अविरल वर्षासँगै घरमाथिबाट आएको पहिराले तीन घर पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । उनकाअनुसार पहिरोले चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

यता, गएराति पहिरोले घर भत्किँदा लमजुङको दोर्दी गाउँपालिका वडा नं. ९ का १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । सो घटनामा १८ वर्षीय मीलन सुनार घाइते भएका छन् ।

घटनामा घाइते भएका दुवैको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा विकलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच पहिरोका कारण लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध छ ।

बेँसीसहर नगरपालिका-६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको इन्स्पेक्टर चपाइँले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मनाङ जाने र मनाङबाट अन्यत्र आउने यात्रु अलपत्र परेका छन् । यो सडक वर्षायाममा पटक पटक अवरुद्ध हुँदै आएको छ ।

जसका कारण मनाङवासीले सास्ती खेप्दै आएका छन् । सम्बन्धित निकायले यस विषयमा ध्यान नदिएको मनाङवासीको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ