arrow

श्रमिकको शोषण

घोराही सिमेन्टले ठगेको भन्दै श्रमिक आन्दोलनमा, मागे श्रममन्त्रीको राजीनामा

ज्यानको बाजी राखेर काम गर्दा तलब २० हजार, त्यसमै काटिन्छ २५ प्रतिशत कमिशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
ghorahi-cement-logo-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आफूहरुमाथि कम्पनीले ठगी गरेको भन्दै घोराही सिमेन्टमा श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । जोखिमपूर्ण काम गरेर पाउने तलबमा पनि झण्डै २५ प्रतिशत कमिशन काट्न थालेपछि श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् । गुनासो सुनुवाइ नगरेको भन्दै उनीहरुले श्रममन्त्री डोलप्रसाद अर्यालको राजीनामासमेत मागेका छन् । 

अहिले सिमेन्टले श्रमिकहरुलाई प्रतिमहिना २० हजार रुपैयाँ तलब तोकेको छ । तर श्रमिकले काम गर्ने श्रमिकहरुलाई नियुक्तिपत्र नदिएर आउटसोर्स गरेर राखेको छ । त्यसरी आउटसोर्स गर्ने कम्पनीले तलब दिँदा प्रतिश्रमिक १५ हजारको दरमा दिँदै आएको छ । बाँकी पाँच हजार कमिशनको नाममा काट्ने गरेको पीडितहरुको भनाइ छ । 

अहिले सरकारले श्रमिकहरुको न्यूनतम तलब नै १८ हजार रुपैयाँ तोकेको छ । सिमेन्ट उद्योग स्वास्थ्यको हिसाबले नकारात्मक रहेकोले त्यसकोसमेत क्षतिपूर्ति हुने गरी तलब निर्धारण हुनुपर्ने हो । तर सिमेन्टको धुलो खाएर काम गर्दा ठगी भएको पाइएपछि उनीहरुले शनिबार उद्योग परिसरमै प्रदर्शन गरे । उनीहरुले ठेकेदार कम्पनीले घोराही सिमेन्टसँग आउटसोर्सबापत छुट्टै १० प्रतिशत कमिशन लिने गरेको भए पनि उल्टै तलबसमेत काट्ने गरेको गुनासो गरे । 

त्यस्तै उद्योगभित्र सुरक्षित उपकरण नभएको, स्वास्थ बीमा, सामाजिक सुरक्षा कोष, चाडपर्व भत्ता समेत नदिने गरिएको उनीहरुको गुनासो छ । उद्योगले वातावरण प्रदूषणका मापदण्ड पूरा नगरेकाले स्थानीयवासीको स्वास्थ्यमा जोखिम रहेको समेत विरोध कार्यक्रममा सहभागीहरुले बताउँदै आएका छन् । 

सो विषयमा श्रमिकहरुले प्रमाणसहित श्रम मन्त्रालयमा दुई महिना  अघि उजुरीसमेत दिएका थिए । तर कारबाही गर्नुको सट्टा अहिलेसम्म सामान्य सोधपुछसमेत नगरेको श्रमिकहरुको दाबी छ । कम्पनी स्थापना भएको एक दशकमा २५ करोड रुपैयाँभन्दा धेरै गठी भइसकेको श्रमिकहरुको दाबी छ ।  

श्रमिकहरु ठगिएको विषयमा स्थानीय तहसमेत श्रमिकको पक्षमा देखिएको छ । घोराही सिमेन्टको कारखानास्थल रहेको घोराही उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष मधुसुधन घिमिरेले श्रमिक ठगी भइरहने हो भने उत्पादन नै बन्द गरिदिने चेतावनीसमेत दिएका छन् । तर अहिलेसम्म पनि श्रमिकको माग सुन्न ठेकेदार कम्पनी तयार छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ