arrow

सैपाल हिमालस्थित रानीसैनमा भीस्याट प्रविधिबाट टेलिकमको सेवा सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
Telecom-Tower-2.jpg
फाइल तस्बिर

काठमाडौं । नेपाल टेलिकमले सैपाल हिमालस्थित रानीसैनमा टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा यही असार ९ गतेदेखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो ।

हुम्लाको नाम्खा गाउँपालिका-३ माअवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो ।

 

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन, चार घण्टा र एकदिन पैदल हिडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीयवासी सोनाम लामाले बताए ।

यो भन्दापहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि पाँच हजार पाँच सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव छ सय बासिन्दाले सहज रुपमा आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए ।

 

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ छ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन ।

करिब तीन हजार छ सय मिटरको उचाईमा अवस्थित यस क्षेत्रमा सेवा सञ्चालन भएपश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित हुने छन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पु¥याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले त्यस क्षेत्रमा सेवा विस्तार गरेको हो ।

प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिङ्कर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथाङ्कालगायतका स्थानमा भी-स्याटमार्फत सेवा सञ्चालन गरिए नेपाल टेलिकमले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ