arrow

शिशुको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरी र एनआईसी एसियाबीच सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
nic-asia-chandragiri.jpg

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरी नगरपालिका र एनआईसी एसिया बैंकबीच सम्झौता सम्पन्न भएको छ । 

नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एसिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुने गरी नगरपालिका र बैंकबीच सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र चन्द्रागिरी नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे ।

चन्द्रागिरी नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० साउन १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिने बैंकले जनाएको छ । 

नगरपालिकाको कार्यविधिअनुसार यस नगरमा स्थायी बसोबास गर्नेका छोराछोरीहरू यो योजनाबाट लाभान्वित हुन सक्ने र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । 

चन्द्रागिरी नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एनआईसी एसिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिने बताएको छ । 

यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुने ग्राहकको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरी नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ