arrow

चुलोचौकोबाट बाहिरिँदै महिला, ५२ जनालाई व्यवसायिक अचार बनाउने तालिम

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ असार २१ शुक्रबार
pickel-making-training-kavr.jpg

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिकामा ५२ जनालाई अचार बनाउने व्यावसायिक तालिम दिइएको छ । उनीहरुलाई गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत ५ दिने व्यावसायिक तालिम दिइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । 

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ८० प्रतिशत र बाँकी बेथानचोक गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको उनले जानकारी दिए । 

असार १६ गते शुरु भई २० गते सम्पन्न तालिममा प्रशिक्षक मीरा बजगाईले सहभागीहरुर्लाइ तालिम प्रदान गरेकी थिइन् । तालिम समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंले महिला सीपवान भए आर्थिक समुन्नति हुने बताइन् ।

उनले महिलाका सीप चुलोचौको मै सीमित हुँदा आर्जित सीप व्यावसायिक नभएकोले आय आर्जनका सवालमा महिला पछि परेको औँल्याइन् । 

निर्वाहमूखीबाटमाथि उठेर व्यावसायिक बन्न आवश्यक समाजका हरेक वर्ग र समुदायको पहुँच र अवस्था हेरेर स्वरोजगारी सृजना गर्नु पर्नेमा उनको जोड थियो । 

समूह बनाएर वा एकल व्यवसाय गर्दा पनि प्रदेश सरकारको साथ र सहयोग मिल्ने हुँदा आफ्ना स्थानीय जनप्रतिनिधिमार्फत प्रदेशसम्म पहुँचका लागि उनले सुझाव दिइन् । 

कार्यक्रममा बेथानचोक गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले तालिमले आत्मबल बढाउने, आर्थिक हैसियत प्रदान गर्ने हुँदा सीपमुलक तालिमबाट सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गरिन् । उनले  जनप्रतिनिधिले महिलाको सीप, दक्षता विकासमा ध्यान दियौँ भने महिलाले व्यहोरेको अपमान, असमानता विस्तारै न्यूनीकरण हुँदै जाने कुरा औँल्याइन् ।

कार्यक्रममा वडा नं २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले महिला सशक्तिकरण र समावेशिता नारामा वा कुरामा मात्र सीमित नराखी व्यवहार मै उतार्न आवश्यक रहेको बताए । उनले अग्रणी महिलाहरुसँग  कुन तालिम आवश्यक छ भन्ने सुवाझ लिएरै अचार बनाउने सीपमूलक तालिम सञ्चालन गरिएको बताए । 

सहभागीहरुले तालिममा आँपको अचार, मिक्स अचार, गोलभेंडाको अचार, हरियो अकबरे खुर्सानीको मसला अचार, मथीको टुसाको अचार, खुर्सानीको धुलो र टिमुरको अचार, कागतीको अचार, मेथीको धुलो तथा लेदोको अचार बनाउन सिकेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अम्बिका खरेलले जानकारी दिइन् । 

उनका अनुसार अर्को समूह सातु बनाउने तालिममा प्रशिक्षणरत रहेको पनि जानकारी दिइन् । उनका अनुसार उद्यम विकास कार्यक्रम अन्तर्गत यसअघि वडा नं १ मा दुना टपरी बनाउने तालिम सम्पन्न भइसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ