arrow

आफ्नोलाई ल्याउन टेलिकमको एमडी छनोटमा हतारो, आइतबारसम्म काम सक्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आफ्नालाई नियुक्ति दिन नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिलाई तीव्रता दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्व तथा पूर्व सचिव हरि बस्याल र मन्त्रालयका सहसचिव बाबुराम भण्डारी सदस्य रहेको प्रबन्ध निर्देशक छनोट सिफारिस समितिले उक्त कार्यलाई तीव्र बनाएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाहलमा बिहीबारदेखि प्रस्तुतीकरण र अन्तर्वार्ता शुरु भएको छ । बिहीबार तीन जनाले प्रस्तुती दिएकोमा शुक्रबार बिहानैदेखि धमाधम यो प्रक्रिया चलिरहेको छ । शुक्रबार ६ जनाको प्रस्तुतीरकण सकी शनिबारका लागि बाँकी ७ जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण गरिने तय गरिएको छ । 

सत्तारुढ दल नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिने निश्चित भएपछि सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा सोमबार मन्त्रालयले हतार हतार सूचना प्रकाशित गरेर अन्तर्वार्ता अघि बढाएको थियो । सञ्चारमन्त्री शर्माले समितिलाई सकेसम्म आइतबारभित्रै नाम सिफारिस गर्न निर्देशन दिएकी छिन् । 

आइतबार उक्त सिफारिस भएमा सोमबार बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त प्रस्ताव पेश गर्ने उनको तयारी छ । आइतबारसम्म सिफारिस नसकिएको अवस्थामा आगामी बिहीबारको नियमित बैठकमा प्रबन्ध निर्देशकको नियुक्ति गरिनेछ । 

समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेको र कामचलाउ भइसकेको भन्दै यो अवधिमा दीर्घकालीन महत्वका निर्णयहरु नगर्न सरकारलाई एमालेले सचेत गराइसकेको छ । काँग्रेस र एमाले दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री दाहाल भने संसदमा विश्वासको मत सामना गर्ने तयारीमा छन् । त्योभन्दा अघि रिक्त भएका महत्वपूर्ण नियुक्तिहरु गर्ने उनको तयारी छ । 

अहिले प्रबन्ध निर्देशक नियुक्तिको प्रतिस्पर्धामा १६ जना छन् । उक्त पदका लागि परेको १७ जनाको नाममध्ये १६ जनाको नाम समितिले स्वीकृत गरेको थियो । यसरी नाम स्वीकृत हुनेहरुमा अनन्तप्रकाश मल्लिक, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, कमल लामिछाने, केदारनाथ कोइराला, चिन्तामणि बराल, नागेन्द्रकुमार दास, बुद्धिप्रसाद आचार्य, प्रेमप्रसाद सिलवाल, डा। विमल आचार्य, रमेशप्रसाद जोशी, राजेश जोशी, लक्ष्मण महर्जन, शालिकराम सुवेदी, डा शालिग्राम पराजुली, सुवास साह र संगीता पहाडी छन् । 

यसपटक प्रबन्ध निर्देशका डा. विमल आचार्यलाई नियुक्ति गर्ने तयारी गरिएको छ । आचार्य टेलिकमकै कर्मचारी हुन् । सञ्चारमन्त्री शर्मा र आचार्यको गाउँ एउटै भएकोले पनि उनलाई नियुक्ति गर्न शर्माले जोडबल गर्दै आएकी छिन् । उनकै लागि प्रबन्ध निर्देशकको नियुक्ति निर्देशिका नै संशोधन गरेको आरोप समेत लाग्दै आएको छ । 

टेलिकमले खुला प्रतिस्पर्धाबाट जेठ २२ गते नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि आवेदन खुलाएको थियो । आवेदन खुलाउनुअघि संशोधित निर्देशिकामा प्रबन्ध निर्देशकका लागि दरखास्त दिने उम्मेदवारको उमेर ५६ वर्षबाट बढाएर ५८ वर्ष पुर्याइएको छ भने व्यवस्थापकीय पदमा कम्तीमा तीन वर्षको अनुभव हुनुपर्ने व्यवस्थासमेत हटाइएको छ । 

उता प्रबन्ध निर्देशकको आवेदनका लागि सिभिल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ गरेकाहरुलाईसमेत खुला गरिएको छ । यसअघि यो पदका लागि वाणिज्यशास्त्र, व्यवस्थापन, अर्थशास्त्र, कानून, सूचना प्रविधि, इलेक्ट्रोनिक इञ्जिनियरिङ, टेलिकम्युनिकेसन इञ्जिनियरिङ वा कम्युटर इञ्जिनियरिङ विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने प्रावधान थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ