arrow

सशस्त्रको भूमिकामाथि प्रश्न उठ्दै

तस्करीको लाइन चलाएको र अवैध धन्दा गरेको आरोपमा सशस्त्रका एसपी खड्का मुख्यालयमा तानिए

बाँके, रुपन्देही, नवलपरासी, सिराहा, सप्तरी, रौतहट, महोत्तरी र धनुषाका एसपी निगरानीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
bishwa-khadka-sp-apf.jpg

काठमाडौँ । तस्करीको लाइन चलाएको र अवैध धन्दा गरेको आरोपमा सशस्त्र प्रहरी बल मोरङका प्रमुख, एसपी विश्व खड्कालाई सशस्त्र मुख्यालय तानिएको छ । 

नेपाल भारत सीमा क्षेत्रबाट लाइन चलाएको राजश्व र भन्सारलाई असहयोग गरेको तथा सशस्त्रका बेस, बीओपीलाई दुःख दिई लाइन चलाएको आरोपमा अनुसन्धानका लागि उनलाई मुख्यालय तानिएको हो ।

एसपी खड्का सशस्त्र प्रहरी प्रमुखको जिम्मेवारी पाएर २०८० फागुन पहिलो साता मोरङ गएका थिए । 

मोरङ आएयता तस्करीको लाइन चलाउने समूहसँग साँठगाँठ गरेर असुली गरिरहेको सूचनाको आधारमा उनीमाथि छानबिन शुरु भएको स्रोतले जनाएको छ ।  

भन्सार छली गरेर नेपाल भित्राइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने गरेको विषयमा पनि आईजीपी राजु अर्यालको सचिवालयमा उजुरी परेको थियो ।

‘नेपाल–भारत सीमा क्षेत्रबाट तस्करीको लाइन चलाएर अवैध असुली गरिरहेको पाइएपछि छानबिन एवं अनुसन्धानका लागि खड्कालाई गत साता मुख्यालय तानिएको हो’, स्रोतले भन्यो । 

बैशाख २७ गते पर्साका एसपी किशन कर्माचार्यलाई तानिएको थियो । उनको ठाउँमा पुष्पराम केसी पक्षधरका राधेश्याम धिताललाई पठाइएको थियो । उनी पूर्वसचिव महेश्वर न्यौपानेका खास मानिस हुन् ।

सशस्त्र प्रहरीले बाँके, रुपन्देही, नवलपरासी, सिराहा, सप्तरी, रौतहट र महोत्तरी र धनुषाका एसपीलाई पनि निगरानीमा राखेको छ । 

खड्का र कर्माचार्यको हकमा भने एक्सन लिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआईजी कुमार न्यौपानेले पनि खड्कालाई तानिएको विषय पुष्टि गरेका छन् । आन्तरिक हिसाबले केही कुरा बुझ्नुपर्ने भएकाले एसपी खड्कालाई हेडक्वार्टर झिकाइएको बताए ।

आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौँ तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको छ ।  

डीआईजी न्यौपानेका अनुसार तस्करीलगायतका अवैध धन्दा नियन्त्रणमा लिन र कारबाही गर्न मातहतका युनिटलाई आईजीपी अर्यालले स्पष्ट निर्देशन दिएका छन् । 

१ महिनाअघि भारतबाट गाडीमा तस्करी गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । 

भन्सार छली गरेर ल्याइएको उक्त चिनी विराटनगरका व्यापारी विनोद केशरीको थियो । बरामद गरिएको चिनी र नियन्त्रणमा लिएको गाडी एसपी खड्काले कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउनुपर्नेमा केशरीसँग मोटो रकम लिएर त्यत्तिकै छाडिदिएपछि उनको असुली धन्दा खुलेको थियो ।  

सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । भारतबाट धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ ।  

सशस्त्रको साथ पाएपछि भारतसँग खुला सीमा रहेका कोशी प्रदेशका झापा,  मोरङमा पछिल्लो समय तस्करी बढेको छ । 

सशस्त्र प्रहरीले एसपीहरुलाई पठाउँदा नै राजश्व चुहावट र तथा सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्ने प्रमुख दायित्व दिएर पठाएको हुन्छ । 

तर केही जिल्लाका प्रमुखहरुले त्यसलाई अतिरिक्त आम्दानी गर्न थालेको उजुरी प्रधान कार्यालयमा परेको छ । 

रुपन्देहीका प्रमुख आनन्द थापा पनि रेड जोनमा परेको सशस्त्र मुख्यालय स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ