arrow

सरकारले एकैदिन काट्यो ३३ अर्बको चेक, पूँजीगत खर्च ५७ प्रतिशत नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
finance-ministry-mof.jpg

काठमाडौं । सरकारले एकै दिन १४ अर्ब रुपैयाँ बराबरको पूँजीगत खर्च गरेको छ । सरकारी खाता बन्द हुने अन्तिम दिन सोमबार सरकारले पूँजीगत खर्चबापत १४ अर्ब ४० करोड रुपैयाँ बराबरको चेक काटेको हो । 

योसँगै सरकारको पूँजीगत खर्च बजेटको ५६.९७ प्रतिशत पुगेको छ , आइतबारसम्म यस्तो खर्च ५२.२ प्रतिशत थियो । सरकारले यो वर्षका लागि ३ खर्ब २ अर्ब रुपैयाँ बराबर पूँजीगत खर्चको लक्ष्य राखेकोमा सोमबारसम्म १ खर्ब ७२ अर्ब रुपैयाँ बराबरको खर्च भएको हो । सरकारले जेठ १५ गते गरेको संशोधित अनुमानमा करिब २ खर्ब १५ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने उल्लेख गरेको थियो । 

अबको ७ दिनमा सरकारले फ्रिज नहुने खालका र अत्यावश्यक खर्चको लागि मात्रै चेक काट्न पाउँछ । यो अवधि भएका खर्चहरु समेत गरी सरकारी खच ६० प्रतिशत हाराहारीमा पुग्ने देखिएको छ । 

चालु र वित्तीय व्यवस्थामा १९ अर्ब खर्च 

उता चालु खर्च र वित्तीय व्यवस्थातर्फ एकैदिन झण्डै १९ अर्ब रुपैयाँको चेक काटिएको छ । यस अनुसार चालु खर्चतर्फ ९ अर्ब ८५ करोड र वित्तीय व्यवस्थातर्फ ९ अर्ब ३५ करोड रुपैयाँ बराबरको चेक काटिएको हो । 

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर निर्माण व्यवसायीको झण्डै ६० अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी बाँकी रहेको उल्लेख गरेको थियो । 

संघबाट हस्तान्तरण भई प्रदेश र स्थानीय तहको मातहतमा गएका आयोजनाहरुमा स्रोत सुनिश्चितताबिना नै ठेक्का लागेपछि कतिपय आयोजनाको काम सकिएर पनि भुक्तानी नहुने अवस्था देखिएको बताइन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ