arrow

जापानमा मृत्यु भएका दोलखाका चिमोरियाको परिवारलाई १७ लाख ४७ हजार सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
dipak-chimoria-family.jpg

काठमाडौँ । जापानको फुकुओकामा हृदयघात भई मृत्यु भएका दोलखाका गौरीशंकर गाउँपालिका २ का २२ वर्षीय विवेक चिमरियाको परिवारलाई दोलखा जापान समाजले आर्थिक सहयोग गरेको छ । 

दोलखा समाज जापानले संकलन गरेको सहयोग रकम मृतका परिवारलाई आइतबार हस्तान्तरण गरिएको हो । दोलखा जापान समाजले संकलन गरेको १३ लाख २१ हजार रुपैयाँ सहयोग रकम  प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले परिवारलाई हस्तान्तरण गरेका हुन् । 

जापानमा संकलित १३ लाख २१ हजार र अन्य विभिन्न क्षत्रमा संकलित ४ लाख २६ हजार गरी १७ लाख ४७ हजार हस्तान्तरण गरिएको हो । दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं २ जुगू स्थाई घर भएका विवेक चिमरिया अध्ययनको लागि २ महिनाअघि मात्र जापान पुगेका थिए ।

चिमोरिया कोठामा सुतेकै ठाउँमा निधन भएको थियो । परिवारलाई आर्थिक सहयोग होस् भन्ने उदेश्यले दोलखा समाज जापानले आर्थिक सहयोग अभियान संचालन गरेको र सो वापत जापानी यन १५ लाख ५७ हजार ५१ जम्मा भएको र नेपाली दररेट अनुसार १३ लाख २१ हजार नेपाली रुपैयाँ प्रमुख जिल्ला अधिकारीमार्फत परिवारलाई हस्तान्तरण गरिएको केन्द्रीय अध्यक्ष रोशन थापाले जानकारी दिए । 

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सबै संघ संस्थासँग दोलखा समाज जापानले सहयोगको आह्वान गरी जम्मा भएको रकम र कोरिया, अस्टेलिया, अमेरिकालगायत अन्य देशबाट पनि सहयोग रकम संकलन भएको छ । 

विभिन्न देशमा रहने भवानी पाण्डे, रामचन्द्र पाण्डे, शंकर पाण्डे, दिपक दाहाल लगायतको सक्रियतामा जम्मा भएको ४ लाख २६ हजारसमेत प्रमुख जिल्ला अधिकारीले परिवारलाई हस्तान्तरण गरे । 

जापान समाज र विभिन्न ठाउँबाट संकलन गरिएको गरी जम्मा १७ लाख ४७ हजार रुपैयाँ मृतकका बुबालाई प्रमुख जिल्ला अधिकारीले हस्तान्तरण गरेका हुन् ।

संकलित सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले परिवारजनमा समवेदना प्रकट गर्दै सहयोग रकमले मृतकका परिवारलाई केही राहत हुने बताउँदै सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ