arrow

अनररी कन्सुलर कर्पस नेपालको डिनमा चन्द्र ढकाल, आर्थिक कुटनीति प्रवर्धन पहिलो प्राथमिकतामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ८ मंगलबार
hccn-chandra-dhakal.jpg

काठमाडौँ । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । 

साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले एचसीसीएनले विश्वका राष्ट्रसँग कुटनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् । 

आर्थिक कुटनीतिको माध्यमबाट नेपालमा लगानी अभिवृद्धि गर्न सकिने तथा यसका लागि देशले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने उनको भनाइ थियो ।  

आफ्नो स्वागत मन्तव्यमा एचसीसीएनका निवर्तमान डिन विष्णुकुमार अग्रवालले अवैतनिक वाणिज्यदूतहरुले लगानी भित्र्याउने, पर्यटनको प्रवर्धन गर्ने लगायत द्धिपक्षीय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान दिँदै आएको बताए । 

नेपाली विधार्थीलाई विदेशमा अध्ययन गर्न छात्रवृत्तिदेखि विदेशी राष्ट्रबाट मानवीय तथा विकास परियोजना भित्र्याउनसमेत वाणिज्यदूतहरुले भूमिका खेलेको उनको भनाइ थियो ।

औपचारिक रुपमा सन् २००७ मा स्थापना भएको यो संस्थाका सदस्यले विश्वका ५ महादेशका ६२ देशलाई प्रतिनिधित्व गर्ने उनले जानकारी दिए । 

उनले एचसीसीएनले जेठको दोस्रो साता लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयको अन्तर्राष्ट्रिय कन्क्लेभको आयोजना गरेको र सो कार्यक्रममा विश्वका विभिन्न देशका १९ राजदूत तथा प्रतिनिधिहरु सहभागी रहेको बताए । 

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार, समृद्धिका लागि विश्व शान्तिको आवश्यकता, पर्यटन प्रवर्धन र नेपालमा विदेशी लगानी अभिवृद्धिमा सम्मेलनले महत्वपुर्ण योगदान गरेको उनको भनाई थियो । 

एचसीसीएनका नवनियुक्त डिन ढकालले एचसीसीएनले आर्थिक तथा सांस्कृतिक रुपमा नेपाललाई विश्व समुदायसँग जोड्दै आएको बताए । 
उनले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा आर्थिक कुटनीति मार्फत नयाँ अवसरलाई आत्मसाथ गर्न एचसीसीएन सधै तयार रहेको बताए ।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउने विषयसँग सम्वद्ध यसअघिका कानुन तथा नीतिहरुलाई सुधार गरेर लगानी मैत्री पारेको चर्चा गर्दै ढकालले एचसीसीएनले लगानी भित्र्याउन र देशको आर्थिक समृद्धिका लागि योगदान गर्ने बताए । 

उक्त कार्यक्रमा परराष्ट्र मन्त्री राणाले एचसीसीएनको आधिकारिक वेवसाईट सार्वजनिक गरेकी थिइन् । वेबसाइटमा नेपालमा कार्यरत अवैतनिक वाणिज्यदूतको कार्यालय सम्बन्धी जानकारी, संस्थाले विगत र हाल गरेका गतिविधि लगायतका सूचनाहरु राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ