arrow

कमलादेवी ह्यारिसको अचम्म पार्ने उपलब्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
kamala-usa.jpg

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमलादेवी ह्यारिसको अभियानले गत साता सम्भावित डेमोक्रेटिक राष्ट्रपतिको उम्मेदवारका रूपमा ह्यारिस देखा परेपछि २० करोड जुटाएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध उनको दौडमा यो अचम्म पार्ने उपलब्धि हो । 

आइतबार आफ्नो पछिल्लो कोष सङ्कलनको घोषणा गरेको अभियानले चन्दाको ठूलो हिस्सा अर्थात ६६ प्रतिशत सन् २०२४ को चुनावी चक्रमा पहिलोपटक योगदानकर्ताहरूबाट आएको बताएको छ । राष्ट्रपति जो बाइडेनले दौडबाट बाहिरिने घोषणा गरेपछि र ह्यारिसलाई समर्थन गरेपछि उक्त अभियान बनाइएको थियो । 

एक लाख ७० हजारभन्दा धेरै स्वयंसेवकले ह्यारिस अभियानलाई फोन बैंकिङ, प्रचार र अन्य गेट–आउट–द–भोट प्रयासहरूमा सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । निर्वाचन हुन एक सय दिन बाँकी छ । 

अभियानका सञ्चार निर्देशक माइकल टायलरले भने, “उपराष्ट्रपति ह्यारिसका लागि गति र ऊर्जा वास्तविक छ र यो दौडमा आधारभूत कुराहरू पनि छन् ः यो निर्वाचन धेरै नजिक हुनेछ र केही राज्यमा थोरै मतदाताहरूले निर्णय गर्नेछन् ।”

ह्यारिसले शनिबार म्यासचुसेट्सको पिट्सफिल्डमा अभियान सुरु गरे र सयौँ मानिसलाई धन सञ्चय अभियानमा आकर्षित गरे । उक्त स्थानमा राष्ट्रपति बाइडेन डेमोक्रेटिक टिकटको शीर्ष स्थानमा रहँदा अभियान सुरु गरिएको थियो । अभियानका अनुसार सुरुमा चार लाख डलर उठाउने अपेक्षा गरिए पनि करिब १४ लाख डलर सङ्कलन भयो । 

बाइडेन दौडबाट बाहिरिनु भएपछि ह्यारिसले तुरुन्तै डेमोक्रेटिक समर्थन प्राप्त गरे । जुन २७ मा ट्रम्पविरुद्ध लज्जास्पद बहस प्रदर्शनपछि बाइडेनको उम्मेदवारी असफल भएको थियो । 

पूर्वसभामुख न्यान्सी पेलोसी, सिनेटका बहुमत नेता चक सुमर, हाउस डेमोक्रेटिक नेता हकिम जेफ्रिज, पूर्व हाउस माइनरिटी ह्विप जिम क्लाइबर्न, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले ह्यारिसलाई तुरुन्तै समर्थन गरे । 

पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामाले शुक्रबार आफ्नो समर्थनको घोषणा गरेकी छन् । 

ह्यारिसले शनिबार कोष सङ्कलन कार्यक्रममा चुनावी दौडमा ‘अन्डरडग’ रहको बताएकी थिइन् तर उनको अभियानले गति लिइरहेको छ । 

बाइडेनको बहिर्गमन र ह्यारिसको समर्थनपछि पहिलो २४ घन्टामा चन्दादाताहरूबाट १५ करोड डलर हासिल गरेको डेमोक्रेटिक राजनीतिमा सबैभन्दा ठूलो सुपर पिएसी फ्युचर फरवार्डले गत साता घोषणा गरेको थियो । 

ह्यारिस पार्टीको सम्भावित उम्मेदवारका रूपमा देखा परेपछि आफूहरूले समर्थनमा वृद्धि देखेको डेमोक्रेटिक हाउस र सिनेटका उम्मेदवारहरूले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ