arrow

गोरखा धार्चे पहिरो : चार जनाको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
gorkha-pahiro.jpg

पोखरा । गोरखाको धार्चे गाउँपालिका वडा नं. ५ सिङ्लास्थित रेसेमा पहिरो जाँदा बेपत्ता भएका पाँचमध्ये चार जनाको शव भेटिएको छ ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा आज चार जनाको शव फेला परेको हो ।

घटनास्थलमा तीन र फिस्लिङमा एक जनाको शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जितबहादुर गुरूङ, सुलालकान्छा गुरूङ र रमेश गुरूङको शव घटनास्थलमै पहिरोले पुरेको अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुुसार तीन जनाको शव आज दिउँसो र एक महिलाको शव आइतबार फेला परेको थियो । प्रहरीका अनुसार कान्छीमाया गुरूङको शव गोरखाकै गण्डकी गाउँपालिकास्थित त्रिशुली नदी किनार बर्खेघाटमा फेला परेको थियो ।

अझै बेपत्ता भएका आरूघाट गाउँपालिकाका रमेश परियारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

पहिरोमा परेका सबै स्थानीय वाटर इनर्जी हाइड्रोमा कार्यरत कर्मचारी रहेको र बेपत्ता परियार हाइड्रोका ट्याक्टर चालक रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार राति गएको पहिरोले एक घर र कृषि फर्ममा क्षति पुर्याएको थियो । यो घर र फर्मनजिकै हाइड्रोको कार्यालय छ ।

पहिरोमा परेर घाइते भएका दिलीप गुरूङ र छामबहादुर गुरूङलाई उपचारका लागि हेलिकप्टरबाट आइतबार नै काठमाडौँ लगिएको थियो । उनीहरुकाे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ