arrow

विपद्‌मा सघाउनुको सट्टा ठट्टा गर्ने चिनियाँ राजदूतमाथि स्पष्टीकरण सोध्न संसदमै माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १६ बुधबार
ramhari-sarbendra.jpg

काठमाडौँ । गत असार २८ गते आएको पहिरोमा परी नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बस र यात्रुहरुको अवस्था अझै अज्ञात छ । 

अहिलेसम्म ६५ यात्रुमध्ये तीन जनाले पौडिएर ज्यान जोगाउन सफल भएको र २४ जनाको शव फेला परेकामा ३८ जनाको अवस्था अहिले पनि अज्ञात रहेको छ । 

सहयोगका लागि आएको भारतीय टोली बिना सफलता फर्किएको छ । बेपत्ता भएको तीन साता हुन लाग्दा सरकारले खोजीका लागि चीनलाई आग्रह गर्ने भएको छ । 

बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

सरकारले खासै वास्ता नगरेको भन्दै चर्को आलोचना भइरहेको छ । जहाज दुर्घटना हुँदा प्रधानमन्त्रीसहित मन्त्रीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने र छानबिन समितिसमेत बनाउने तर दुई बससहित यात्रुहरु बेपत्ता हुँदा सरकारको चासो कम भएको भन्दै बेपत्ताका आफन्तहरुले चर्को विरोध गरिरहेका छन् । 

उनीहरुले न सास फेला पार्ने आशा गर्न सकेका छन् त त शव नै पाउन सकेका छन् । 

चिनियाँ राजदूतको हेपाहा प्रवृत्तिबीच चीनसँग सहयोग माग्दै सरकार 
सरकारले अब विकल्प नभएपछि चीन सरकारसँग सहयोग माग्ने भनिरहेको छ । यति ठूलो विपद्मा पर्दा नैतिकताका आधारमा पनि चीनले सघाउन अग्रसरता देखाउनु पर्ने थियो । 

तर त्यसो गर्नुको सट्टा नेपालका लागि चिनियाँ राजदूत चेन सङले गैरजिममेवार अभिव्यक्ति सामाजिक सञ्जालमा दिए । 

चार गोताखोर र १२ प्राविधिक विज्ञ रहेको भारतीय टोली नदीको उच्च बहाव र टर्बिडिटीमा आफ्नो उपकरण प्रभावहीन देखिएपछि स्वदेश फर्किएसँगै विज्ञ टोलीको प्रयास असफल हुँदा थप चिन्ता बढेको छ । 

यस्तो बेलामा थप सहयोग गर्नु त कता हो चिनियाँ राजदूत चेन सङले सामाजिक संजाल एक्समा विवादास्पद पोस्ट गरेर चिँढ्याउने काम गरे । 

उनले लेखे, ‘केही मानिसहरूले टिप्पणी गर्न अनुपयुक्त छ भनेर तर्क गर्छन्। उनीहरूलाई मेरो जवाफ–टिप्पणीमा के गलत छ ? खोजलाई गति दिनु हुँदैन । यदि चुम्बक खोजी छिटो गर्न आवश्यक छ भने, मानिसहरूले चुम्बक हराएपछि मात्र प्रश्न सोध्न थाल्छन् – खोजीमा प्रयोग गरिएको १९ किलो चुम्बक हरायो, पछि आइतबार काभ्रेघाट नजिकैको नारायणी नदीमा लाइफ ब्वाय ट्युबसहित भेटिएपछि खोजी कार्यलाई शनिबार अर्को धक्का लागेको थियो ।’

चुम्बकको रिकभरी पछि, राजदूत सङले फेरि पोस्ट गरे, ‘यदि यो समाचार सत्य हो भने, यो राम्रो समाचार हो। अब खोजीमा ध्यान दिनुहोस् र हतार गर्नुहोस्। खोज टोलीहरूलाई शुभकामना।’

यी टिप्पणीले नेपालमा विवाद उत्पन्न भएको हो । उनको व्यवहारमाथि प्रतिनिधि सभाको बैठकमै टिप्पणी भएको छ । 

मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसद रामहरि खतिवडाले आक्रोश पोख्दै भने, ‘यो समयमा छिमेकी राष्ट्रका एक जना महामहिम राजदूतले गम्भीर कूटनीतिक मर्यादा विपरीत, कूटनीतिक आचार संहिता विपरीत अभिव्यक्ति दिन थाल्नुभएको छ । सर्च गर्ने टोलीलाई गुडलक अल त सर्च टिम भनेर ट्वीटरमा लेख्ने गरिएको छ । बस नखोज चुम्बक खोज भन्ने गरिएको छ । कमसेकम नेपाललाई आपत् पर्दा सहयोग गरौँ । मानवीय संवेदनाको बारेमा बोलौँ । अप्ठेरो परेका बेलामा हामीलाई हँसाकमजाकमा नउडाउँ भनेर म अनुरोध गर्न चाहन्छु । र यसमा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतलाई बोलाएर स्पष्टीकरण लियोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

त्यस्तै सांसद सर्वेन्द्रनाथ शुल्कले पनि मंगलबारको प्रतिनिधि सभाको बैठकमा कूटनीतिक मर्यादाको प्रश्न उठाए । उनले भने, ‘हामीसँग उद्दारको लागि आवश्यक अनुभवी जनशक्तिको कमी छ । र उपकरणहरु पनि एकदमै कम छन् । ढिलै भए पनि मित्रराष्ट्रबाट त्यसको व्यवस्था भएको छ । र सरकारले केही ढिला भए पनि बोलायो । जब दुर्घटनाका अवशेषहरु बिहारको सीमामा देखिन थाल्यो त्यो बेलामा यो उद्दार टोलीले काम प्रारम्भ गरेको हो । अहिले केही समयदेखि उद्दारकार्य नेपाली टोलीले मात्र गरिरा’छ । सात दिनसम्म ठूलो संख्याले खोजी गर्दा केही फेला नपर्नु दुर्भाग्यपूर्ण हो । तर त्यो भन्दा बढी दुर्भाग्यपूर्ण हो त्यसमाथि गरिएको व्यङ्ग्यपूर्ण अभिव्यक्ति । सम्बन्धित ठाउँका सयौँ गाउँका हजारौँ व्यक्ति शोकमग्न छन् । त्यो अप्रत्याशित घटनाले जहाँ साससमेत व्यक्ति हेर्न पाइएन अहिलेसम्म लास पनि हेर्न पाइएन भन्ने कुरा दुःखी हुनु स्वभाविकै छ । सबैजना शोकमग्न रहेको बेलामा एक जना महामहिमले खोजी कार्यको मजाक उडाएछन् एक्सको पोष्टमा सभामुख महोदय । यो हेर्दा मित्रले पीडाबोध गर्नु त कहाँ कहाँ हो संयुक्त प्रयासलाई निरन्तर लेख्दै अपहेलित गर्ने काम भइराख्दै आएको छ । यो कृत्य कुनै पनि देशको कूटनीतिक मर्यादा विरुद्ध हो । र नेपालको नेतृत्वमा भएको खोजी कार्यलाई सफल भए पनि असफल भए पनि त्यसको मजाक उडाउने कार्य निन्दनीय हो । यसलाई मलाई लाग्छ सरकारको ध्यानाकर्षण गराएँ । सरकारले यस्तो कुरा अहोरात्र खटिरहेको हाम्रो सुरक्षा निकाय, हाम्रो मित्रराष्ट्रको विज्ञहरु समेतको टोलीले गरिरहेको कार्यको मजाकपूर्ण ढङ्गले बारम्बार विगत तीन दिनदेखि लगातार यो भइराछ । यसलाई नोटिसमा लिनुपर्छ । र, कुटनीतिक तरिकाले त्यसको निदान खोजेर यस्ता गतिविधि रोकिनु पर्छ ।’

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगकी पूर्व आयुक्त, अधिवक्ता मोहना अन्सारीले एक्समै कडा प्रतिक्रिया दिँदै लेखिन्, ‘वाउ....कूटनीतिज्ञद्वारा कस्तो टिप्पणी ।’

एक्स प्रयोगकर्ता सदीक्षा कार्कीले टिप्पणी गरिन्, ‘धन्यवाद दिपक मनाङेले कम्तीमा आफ्नो लाज ढाक्न भेस्ट लगाएका छन् । नत्र छिमेकीले सबै कुरा पर्दाफास गरिदिने छन्।’

आइतबारमात्रै अन्सारीले संयमित भएर लेख्दै बेपत्ताका आफन्त अझै पनि उद्दारको पर्खाइमा रहेको भन्दै यो कुनै ख्यालठट्टा नभएको बताएकी थिइन् । उनले अन्तर्राष्ट्रिय सहयोगीले सहयोगी हात बढाउनु पर्ने र आधुनिक साधन उपलब्ध गराउनु पर्ने बताइन् ।

राजदूत सङको टिप्पणीलाई भारतीय र नेपाली टोलीको क्षमतालाई चुनौती दिएको मानिएको छ । आलोचकहरूको तर्क छ कि उद्धार प्रयासको आलोचना गर्नुको सट्टा राजदूतले सहयोगको हात अगाडि बढाउन सक्नु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ