arrow

बालविवाह रोक्न सक्रिय बन्दै बाल क्लब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
chainpur-school-dang.jpg

दाङ । यहाँको गढवा गाउँपालिका-५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्रा बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् ।

बाल क्लबका सदस्यहरुले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् । मुक्त कम्लरी विकास मञ्चले यसअघि देखि बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

विसं २०७९ साउन २४ गते विद्यालयमा बाल क्लब गठन भएपछि मञ्चको उक्त कार्यक्रमलाई बाल क्लबको अभियानले थप सहायता प्रदान गरेको छ ।

गढवा गाउँपालिका-५ बाँकेकी सरस्वती परियार विद्यालयमा गठित बाल क्लबको अध्यक्ष हुन् । उनले विसं २०८० मा एसइई परीक्षा दिएको हो ।

एसइई परीक्षा सकिए पनि उनी प्रत्येक महिना विद्यालयमा हुने बाल क्लबको बैठकमा सहभागी छन् । बाल क्लबमा आबद्ध भएपछि सिकेको जीवन उपयोगी सीपलाई अरू साथीहरुमाझ पुर्याउने काम गर्दै आएको छ ।

बालविवाह, प्रजनन स्वास्थ्य, नेतृत्व विकासका बारेमा जान्ने बुझ्ने कामलाई विद्यालयमा अध्ययनरत अन्य किशोर-किशोरीलाई सिकाउने गरेको उनले बताइन् । मनिषा चौधरी पनि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत छन् ।

उनी क्लबको कोषाध्यक्ष हुन् । बाल क्लबमा आबद्ध हुनुभन्दा पहिले उनलाई सबै सामु आफ्नो नाम भन्न डर लाग्थ्यो । अहिले सबैसामु ढुक्कसँग बोल्न र आफ्ना कुरा राख्नसक्ने भएको छ ।

बाल क्लबले किशोरकिशोरीमा आउने शारीरिक परिवर्तन र त्यसले पार्ने असरका बारेका खुलेर एकआपसमा कुरा गर्ने गरेको उनले बताए । साथीलाई कुनै समस्या आई लागेमा सहयोग गर्ने गरेको चौधरीको भनाइ छ ।

“बालविवाहले किशोरकिशोरीमा पार्ने शारीरिक र मानसिक असरका बारेमा छलफल हुन्छ । विद्यालय सरसफाइ प्रत्येक साता गर्ने गरेका छौँ । विद्यालयमा सिकेका कुरा घरपरिवारमा छलफल गर्ने गरेका छौँ,” मनिषाले भनिन् ।

छोरा र छोरीबीच भेदभाव गर्नु हुँदैन हरेक स्थानमा समान सहभागिता दिनुपर्छ भन्ने कुरा घरपरिवार र समाजमा चेतना फैलाउने काम उनीहरुले गर्दै आएका छन् ।

२५ सदस्य रहेको बाल क्लबले गरिरहेको कामबाट धेरै खालका सकारात्मक परिवर्तन हुँदै गएको मुक्त कम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रम ‘फिल्ड मोटिभेटर’ निमा चौधरीले बताइन्।

विद्यालय पढ्दै गरेका कतिपय किशोरकिशोरीले बालविवाह गर्ने गरेकाले यसको रोकथामका लागि बाल क्लबका माध्यमबाट निगरानी बढाएको छ ।

मुक्त कम्लरी विकास मञ्चका फिल्ड संयोजक ज्ञानु थापाले किशोर अवस्थामा उनीहरुमा आउने परिवर्तनसँगै उनीमा रहेको उत्सुकता मेटाउन बाल क्लबले सहयोगी भूमिका खेलेको बताइन् ।

समय समयमा मञ्चले तालिम सञ्चालन गरेर उनीहरुलाई सचेतना दिने गरेको छ । क्लब गठन भएयता बीचैमा पढाइ छोड्ने र कक्षामा अनुपस्थित हुने बालबालिकाको सङ्ख्यामा कमी आएको विद्यालयका प्रधानाध्यापक हिमालप्रकाश अधिकारी बताउँछन् ।

विद्यालयमा बाल क्लब गठन भएपछि विद्यार्थीको पढाइलेखाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागिता बढेको उनको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ