arrow

तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक चालु अधिवेशनबाटै पारित - सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
devraj-ghimirey-11-12.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक चालू अधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन्।

डा. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसद्को चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उनको भनाई थियो । 

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढङ्गले अघि बढाउन सकिने बताए । उनले सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्त्व दिएको पनि उल्लेख गरे । 

सभामुख घिमिरेले भने, ‘आँखाको क्षेत्रमा डा. सन्दुक रुइतले खेल्नुभएको भूमिकालाई हामीले कसरी अगाडि लैजान सकिन्छ ? आज भन्दा दुई महिना अगाडि मात्रै हो– त्यहाँबाट एउटा टिम तिलगंगा अस्पतालको तर्फबाट आउनु भयो । तिलगंगा नेत्र विश्वविद्यालय र त्यसका कानून बनाउनुपर्ने भयो । त्यो विश्वविद्यालयको ऐन पास गर्नुपर्ने भयो । त्यो विधेयक छिटो पास गर्नका लागि सहयोग गर्नु पर्‍यो भनेर उनले आएर कुरा गरे । त्यति बेला सरकारमा गइरहेको र सरकारले संसदमा पेश गर्न बाँकि थियो । मैले आफ्नो ठाउँबाट गर्न सक्ने जति कोशिस गरेर सरकारले पनि त्यसलाई आवश्यक महत्त्व दिएर उनहरुले पनि सम्बन्धित मन्त्रालयदेखि सबै चाहिने ठाउँमा घचघच्याएर त्यो संसदमा आयो । संसदमा त्यस विषयमा लगातार छलफल भइरहेको तर राष्ट्रिय सभा अलि खुकुलो र खाली भएको हुनाले त्यसलाई राष्ट्रिय सभामा दर्ता गराएर त्यसले पनि स्वीकार गरेर अहिले समितिमा लगेको छ । र समितिमा त्यो पास भयो भने कानूनी रूपमा भएका असजिलाहरूलाई हटाउने र त्यसरी विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्र्रै खालको अवसरहरू हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुराहरूमा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ