arrow

नबिल बैंकको खुद नाफा सात अर्ब छ करोड, बढ्यो वितरण योग्य नाफा पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
nabil-bank-nbank.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नबिल बैंक लिमिटेडको नाफा ७ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण अनुसार सो बैंकले यो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको देखिएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ६ अर्ब ४० करोड थियो । 

यो वर्ष बैंकको नाफामा १०.३१ प्रतिशत बढेको छ ।  बैंकले कमाएको उक्त नाफा हाल रहेको २७ अर्ब ५ करोड चुक्ता पूँजीको आधारमा यो नाफा प्रतिशेयर २६.०९ रुपैयाँ हो । 

यो वर्ष सो बैंकलाई कुल ब्याज आम्दानीले साथ नदिए पनि इम्पेरिमेन्ट चार्जमा गिरावट आउँदा नाफा बढेको देखिन्छ । अघिल्लो वर्ष १७ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १६ अर्ब २० करोड आम्दानी गरेको छ । त्यस्तै शुल्क तथा कमिसन आम्दानी अघिल्लो वर्ष २ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा यो वर्ष ३ अर्ब २४ करोड पुगेको देखिन्छ । 

यो वर्ष बैंकका सबै प्रकारका खर्चहरुमा सामान्य वृद्धि देखिएको छ । अघिल्लो वर्ष ४ अर्ब ५२ करोड रहेको कर्मचारी खर्च बढेर ४ अर्ब ७६ करोडमा पुगेको छ । त्यस्तै अघिल्लो वर्ष १ अर्ब ५२ करोड रहेको सञ्चालन खर्च बढेर १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा भने यो अवधिसम्म १ अर्ब २२ रुपैयाँ बराबर रहेको छ । यो भनेको प्रतिशेयर १४.२६ रुपैयाँ बराबर हो । अघिल्लो वर्ष यो क्षमता प्रतिशेयर ११.७८ प्रतिशत रहेको थियो । 

वर्षको अन्त्यमा बैंकको निष्क्रिय कर्जा अनुपात ३.८५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३.३९ प्रतिशत थियो । त्यस्तै, पूँजीकोष अनुपात १२.३९ प्रतिशत, कस्ट अफ फण्ड ५.८६ प्रतिशत, बेसरेट ७.६३ प्रतिशत र ब्याजको स्प्रेडदर ३.९९ प्रतिशत रहेको देखिन्छ । 

बैंकले यो अवधिमा ४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष निक्षेप र कर्जाको रकम क्रमशः ३ खर्ब ९६ अर्ब र ३ खर्ब ३१ अर्ब रुपैयाँ थियो । 

अहिले बैंकको रिजर्भ कोषमा २८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो रिजर्भ चुक्ता पूँजी तथा रिटेन्ड अर्निङ समेतको आधारमा बैंकको प्रतिशेयर नेटवर्थ २२०.१६ रुपैयाँ रहेको देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ