- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा सो प्रस्ताव प्रस्तुत भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनका अनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरू प्रवेश भएका छन् । जसमा महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरी प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर छलफल गर्ने प्रस्ताव छ ।
उनले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताए । उनले भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्तावबारे पनि छलफल हुने बताए । उनले अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रस्तुत गरेको पनि जानकारी दिए । उनले पार्टीका विभिन्न रिक्त पदहरूको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रस्तावको विषय बनेको बताए ।
क्रियाशील सदस्यताको नयाँ र नवीकरणको विषयमा पनि बिहीबारको बैठकमा छलफल हुने बताए । विदेशस्थित जनसम्पर्क समितिहरू विधान अनुकूल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय बनेको बताए । पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश भएको र पार्टीको चुनावबाट निर्वाचित भई जिम्मेवारी लिइसकेपछि काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रस्तावित भएको बताए । समसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुने बताए ।
उनले भने, ‘आज छलफलको विषय वस्तुहरू प्रस्तुत भए । ११ वटा विषयवस्तुहरू प्रवेश भएको छ । जसमा महासमितिको बैठकले विभिन्न प्रस्तावमा छलफल गरेको थियो । ती प्रस्तावहरू केन्द्रीय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रीय समितिमा पदाधिकारीहरूले तयार गरेको परिमार्जन प्रस्ताव उपर छलफल हुन्छ । भोलिबाटै हुन्छ । राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा जुन कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन भएको छ । भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि जुन समय दिइएको र निर्देशक समिति समेत बनाउने पार्टीले निर्णय गरेको छ, त्यो छलफलको विषय रह्यो । सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव पनि आज प्रवेश गरेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाजीले अनुशासन सम्बन्धी विषयमा भएका प्रगति विवरण प्रस्तुत , त्यस सम्बन्धी निर्णय पनि लिनुपर्ने प्रस्ताव आएको छ । पार्टीका विभिन्न रिक्त पदहरूको पूर्ति गर्ने भन्ने बारेमा पनि छलफलको प्रस्तावको विषय छ । क्रियाशील सदस्यताको नयाँ र नवीकरणको विषय छ । पुरानो क्रियाशील सदस्यताको कार्ड वितरण पूरा गर्ने विषय, क्रियाशील सदस्यता नवीकरण गर्ने विषय र नयाँ क्रियाशील सदस्यता दिने विषयमा सर्कुलर जिल्लालाई पार्टीले गरिसकेको छ, त्यसलाई कार्यान्वयन गर्न आवश्यक पर्ने कामका विषयमा पनि छलफल प्रस्ताव आएको छ । विदेशस्थित जनसम्पर्क समितिहरू जो छन्, नेपाली कांग्रेससँग आबद्ध ती समितिका सन्दर्भमा पनि कसरी विधान अनुकूल र त्यहाँको व्यवहारिकतालाई मध्यनजर राखेर के गर्न सकिन्छ भन्ने विषय पनि छलफलको विषय छ । नियमावली संशोधन, पार्टीको विधानअनुसार नियमावली संशोधनको विषय पनि छलफलको लागि प्रवेश गरेको छ । पार्टीको चुनावमा जितेर जो आफ्नो जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरुको लागि कार्यसम्पादन निर्देशिका पार्टीको तर्फबाट निर्वाचित भई जिम्मेवारी लिइसकेपछि उहाँहरुले राम्रो काम र पार्टीको अपेक्षाअनुसार जनता र देशप्रति समर्पित भएर काम गर्ने सम्बन्धमा निर्देशिका प्रस्तावित भएको छ । समसामयिक राजनीति र अन्य गतिविधिका सन्दर्भमा पनि छलफल हुन्छ ।’
बैठक बिहीबार १ बजे बस्ने प्रवक्ता महतले जानकारी दिए । नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा परी चार जना चिनियाँ नागरिक र पाइलटसहित दुर्घटनामा परेकोबारे पार्टीले दुःख प्रकट गरेको बताए । मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताए ।