arrow

ठूला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षा: अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २६ शनिबार
chandra-dhakal-81-4-26.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् । 

कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारण सभालाई प्रमुख अतिथिको हैसियतले शनिबार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् । 
 
मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र शेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए । 

केन्द्रीयसँगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानीय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो । 

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरुमध्ये छैटौँ स्थानमा रहेको र सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए । जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निकै मेहनती रहेको र युवाहरु विकासको सम्भाहक हुने उनको भनाइ थियो ।
 
जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरी महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिबद्धता जनाए । 

कैलाली उद्योग वाणिज्य संघको पचासौँ वार्षिक साधारण सभाको अध्यक्ष ढकाल प्रमुख अतिथि थिए । कार्यक्रममा संघका अध्यक्ष पुष्प कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । साथै सुदूरपश्चिमका उत्पादनको बजारीकरण, वित्तीय पहुँच लगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको पनि उनको भनाइ थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ