arrow

ठूलो क्षति रोक्न रूसले ‘नयाँ अभियान’ शुरू गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २७ आइतबार
russia-attack-24-03-22-AFP.jpg

काठमाडौँ ।  मस्कोले युक्रेनसँग जोडिएका तीन वटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबारदेखि नयाँ अभियान सुरु गरेको छ ।

स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रूसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो ।

उक्त रूसले ट्याङ्क, रकेट लञ्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छभने उक्त क्षेत्रमा सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षितस्थलमा सारिएको छ ।

नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रूसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ ।

रूसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ ।

यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र  फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ । अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र (नो–गो जोन) घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधारस्थलहरूमा सुरक्षा कडा पारिएको छ ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ ।

रूसले युक्रेनको आक्रमणलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै किएभका सेनाले सर्वसाधारणलाई घाइते बनाएको र आवासीय भवनहरू ध्वस्त पारेको बताएको छ ।

युक्रेनी नेताहरू यस अभियानको बारेमा मौन रहेका छन् र किएभको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले योजनाहरूको बारेमा पूर्व जानकारी नदिएको बताएको छ ।

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको सुरुमा रूसले युक्रेनविरुद्ध सन् २०२२ को फेब्रुअरीदेखि सुरु गरेको आक्रमणको परिणाम ‘महसुस’ गर्नुपर्ने बताउनुभएको थियो । 

रूसको रक्षा मन्त्रालयले शनिबार कुस्र्क क्षेत्रमा रहेको युक्रेनी चौकीमा ट्यांक चालक दलले गोली चलाएको र रातभर हवाई आक्रमण गरेको फुटेज सार्वजनिक गरेको छ । रूसले उक्त क्षेत्रमा युक्रेनी सेनाले रातिको समयमा आक्रमण गर्ने प्रयासमा प्रयोग भएका २६ वटा ड्रोन खसालेको पनि जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ