arrow

स्वास्थ्य बीमा सुधारको अपनत्व लिन कांग्रेसलाई मन्त्री पौडेलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
pradip-poudel-81-4-27 (3).jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन् । 

कांङ्ग्रेस केन्द्रीय समितिको बैठकमा सोमबार बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चिततासमेत गर्न सकिने उल्लेख गरे ।

 उनले ४० अर्ब हाराहारीमा बीमाका लागि श्रोत जुटाउन सकिने भन्दै पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे ।

मन्त्री पौडेलले भने, "मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजनाअनुसारको बीमा सुधार योजना कार्यान्वयन गर्ने सन्दर्भमा पार्टीले समेत निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु ।"

बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठाएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा समेत ल्याएको बताए । 

"नसर्ने रोगको औषधि मूल्य अकासिएको छ, यसको नियन्त्रण गर्न मूल्य समायोजनको प्रस्ताव ल्याएको छौँ । यसलाई कार्यान्वयन गर्न तत्काल काम थाल्ने तयारी रहेको छ, यसमा हामीले आवश्यक कार्य गर्ने छौँ ", उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ