arrow

तेलको माग सुस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
russian-oil.jpg

पेरिस । चीनमा कमजोर निर्माण र औद्योगिक गतिविधिका कारण वर्षको दोस्रो त्रैमासिकमा विश्वव्यापी तेलको मागमा सुस्त वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) ले मङ्गलबार बताएको छ ।

“सन् २०२४ र २०२५ दुवैमा एक एमबिडी (मिलियन ब्यारेल प्रतिदिन) भन्दा कम माग बढ्नेछ”, आइइएले आफ्नो मासिक तेल प्रतिवेदनमा भनेको छ ।

उक्त वृद्धि दर गत वर्षको दुई दशमलव एक एमबिडीको तुलनामा अत्यन्त सुस्त हो र महामारीपूर्व विस्तारको तुलनामा सुस्त हो ।

सन् २०२४ मा विश्वव्यापी खपत एक सय तीन दशमलव शून्य छ एमबिडी हुने एजेन्सीले अपेक्षा गरेको छ । यो गत वर्ष एक सय दुई दशमलव शून्य नौ एमबिडी र सन् २०१९ मा एक सय दशमलव छ एमबिडी थियो ।

समग्र मागमा गिरावट हुने युरोप एक मात्र महादेश हुनेछ भने अमेरिकामा सामान्य वृद्धि हुनेछ । आइइएका अनुसार चीनलगायत एसिया–प्रशान्त क्षेत्रमा मागको तीव्र विस्तार जारी रहने छ ।

यद्यपि मुख्यतया निर्माण उद्योगहरूले प्रयोग गर्ने डिजेल र नेफ्थाको कमजोर मागका कारण चिनियाँ तेलको माग जुनमा लगातार तेस्रो महिनाका लागि घटेको छ । प्राकृतिक ग्यास वा ब्याट्रीमा चल्ने ट्रकको बढ्दो सङ्ख्याले पनि चीनमा डिजेलको माग घटिरहेको आइइएले जनाएको छ ।

“निर्माण र उत्पादनमा आएको सुस्तता, वैकल्पिक इन्धनद्वारा सञ्चालित सवारी साधनहरूको द्रुत विस्तार र मजबुत पोस्ट–ओपनिङ बेसलाइनको तुलनामा चीनको तेलको मागमा वृद्धि उल्टिएको छ”, ऊर्जा नीतिमा तेल खपत गर्ने मुलुकहरूलाई सल्लाह दिने आइइएले भनेको छ ।

एजेन्सीले चाइना प्यासेन्जर कार एसोसिएसनबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै विद्युतीय कारको बिक्री पनि बलियो रहेको बताएको छ । जुलाईमा विद्युतीय कारको बिक्री ५० प्रतिशतभन्दा बढी रहेको थियो । एएफपी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ