arrow

गाईजात्रा विशेष

‘मैले जोरपाटी भन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
gaijatra-81-5-4-kalakar-(14.jpg

काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । 

गाईजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्यकलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । 

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अहिले देशमा प्रत्येक दिन गाईजात्रा भइरहेको टिप्पणी गरे । उनले पञ्चायती व्यवस्थामा राजनीतिक नेतृत्वमाथि गाईजात्राको अवधिमा ८ दिनमात्रै व्यङ्ग्य गर्न पाइने विगतलाई स्मरण गराउँदै अहिले आफूलाई लागेको कुरा जहिले पनि व्यक्त गर्न सकिने अवस्थामा देश आइपुगेको बताए । 

धमलाले नेताहरुलाई प्रत्येक दिन गाली गर्दागर्दा जनता वाक्क दिक्क भइसकेको बताउँदै अब गाईजात्रामा पनि सकारात्मकता खोज्न सुझाव दिए ।

 ‘हाम्रो देशमा प्रत्येक दिन नकारात्मक कुरा गरिन्छ । नेताहरुलाई गाली गरिन्छ । आजको दिनमा एउटा संकल्प गरौं, अब राम्रा कुरा गरौं । प्रत्येक दिन गाली गर्दागर्दा सबै वाक्कदिक्क भइसकेँ’, उनले भने । 

त्यस्तै हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे । 

कलाकार सिम्खडाले ‘कहिले घाँस कहिले दाउरा, पधेरीमा पानी, घाँस, दाउरा, पानी गर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाएका थिए । उनले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेटेका थिए । 

‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी’– उनले प्यारोडीमार्फत व्यङ्ग्य गरेका थिए । 

बाल हाँस्यकलाकार सुयसा खनालले आफूलाई सबैभन्दा मनपर्ने पत्रकार ऋषि धमला रहेको बताउँदै राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पनि उनकै क्यारिकेचर गरेको बताइन् । उनले आफूले गरेको क्यारिकेचरको छोटो अंश पनि प्रस्तुत गरिन् । 

सुयसाले आफ्ना बाबु सन्तोष खनाललाई ऋषि धमला बनेर प्रश्नहरु सोधेकी थिईन् । सुयसाले गाईजात्रामा खस्किँदो अवस्थामा रहेको देशको शैक्षिक अवस्थाप्रति पनि ब्यङ्ग गरेकी छिन् । 

अर्का हाँस्यकलाकार दमन रुपाखेतीले आफूहरुले जति ब्यङ्ग्य गरेपनि नेताहरु नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

हाँस्यकलाकार दिनेश काफ्लेले यतिबेलका देशमा सबैलाई महँगी र भ्रष्टाचारले पिरेको बताए । उनले देशमा रोजगारी नपाएर दैनिक रुपमा विदेश पलायन भइरहेका युवाहरुको पीडालाई समेत प्रस्तुत गरे । उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्यारिकेचर गरेका थिए । 

हाँस्यकलाकार हिमेश पन्तले गाईजात्राको शुभकामना व्यक्त गरे । उनले राष्ट्रिय नाच घरमा हिजोबाट गाईजात्रा महोत्सव सुरु भएको र आगामी भदौ १० गतेसम्म निरन्तर चलिरहने जानकारी गराए । 

त्यसैगरी अर्का हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले विगत २१ वर्षदेखि निरन्तर गाईजात्रा निकाल्दै आएको बताए । यसपटक ओएसआर डिजिटलमार्फत ‘ठगठाग कम्पनी’ गाईजात्रा रिलिज गरेको जानकारी गराए । 

जोगिन्दरले सोही गाईजात्राको अंश प्रस्तुत गरे । उनले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली, माधव नेपाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, रवि लामिछाने, महेश बस्नेत, अशोक राई, बालेन साह लगायतमाथि ब्यङ्ग्य गरेका थिए । 

हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाईजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरु नसुध्रिएको बताए । उनले देश नबन्नुमा नेताहरुको हात छैनजस्तो लाग्नथालेको सुनाए । हाँस्यकलाकार नेपालले नेता होईन, अब देश सुध्रिएमात्रै नेपाल बन्ने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको भेटवार्तातर्फ लक्षित गर्दै उनले व्यङ्ग्य गरे ।

कलाकार नेपालले हाँस्यव्यङ्ग्य क्षेत्रलाई सामान्य औषधि र एन्टिबायोटिकले काम गर्न छाडेको बताए । उनले हाँस्यव्यङ्ग्यमा अप्रेसनको आवश्यक्ता औंल्याए । ‘अहिलेको हाँस्यव्यङ्ग्यलाई एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था छ । अप्रेसन गर्नुपर्ने बेला आइसकेको छ । हामीले गर्ने हाँस्यव्याङ्ग्य पनि सामान्य औषधिजस्तो भइसकेको छ,’– उनले भने । 

हाँस्यकलाकार राजा राजेन्द्रले पत्रकार धमलाको क्यारिकेचर गरे । उनले पत्रकार धमलाले आफ्नो आलोचनालाई जहिले पनि स्वीकार गर्ने गरेको भन्दै उनले प्रशंसा गरे । राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरेका थिए । राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पत्रकार धमलाको पनि क्यारिकेचर रहेको बताउँदै हेर्न आउन निमन्त्रणा पनि दिए । 

अर्का हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाईजात्राको प्रस्तुति गरिरहेको बताए । पहिला गाईजात्राको अवसरमा वर्षको एक हप्तामात्रै व्यक्ति तोकेर व्यङ्ग्य गर्न पाइने अवस्था पनि उनले स्मरण गरे । सिम्खडाले गाईजात्राको अभिव्यक्तिलाई सहज रुपमा लिइदिन पनि आग्रह गरे । यसपटक प्रज्ञा भवनमा ५ शो र राष्ट्रिय नाचघरमा ११ शो गाईजात्रा प्रदर्शन गरिने पनि उनले जानकारी गराए । 

कार्यक्रममा उनले कवितामार्फत राजनीतिक नेतृत्वमाथि ब्यङ्ग्य गरे । पत्रकार धमलाले अबबाट ‘सकारात्मकताको खोजी गरौं’ भन्ने प्रस्ताव गरेको स्मरण गराउँदै उनले त्यो अवस्था नरहेको बताए ।

उनले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत यसरी व्यङ्ग्य गरेः 
‘श्रीमान् ममाथि लागेको आरोप मिथ्या छ । 
मैले प्रष्ट भन्दा उहाँहरुले भ्रष्ट सुन्नुभो । 
मैले गठबन्धन भन्दा उहाँहरुले ठगबन्धन सुन्नुभो । 
मैले जोरपाटी भन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ । 
मैले भुटनदेवीको दर्शनार्थी भनेको, 
उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ । 
मैले झापाको टी स्टेट कसले खाएको भनेको,
उहाँहरुले बालकोट बा सुन्नुभएछ । 
कार्यक्रममा कलाकार सुरेन्द्र केसी, पल्पसा डङ्गोललगायतको उपस्थिति र प्रस्तुति रहेको थियो । 

gaijatra-81-5-4-kalakar (1).jpg
gaijatra-81-5-4-kalakar (2).jpg
gaijatra-81-5-4-kalakar (3).jpg
gaijatra-81-5-4-kalakar (4).jpg
gaijatra-81-5-4-kalakar (5).jpg
gaijatra-81-5-4-kalakar (6).jpg
gaijatra-81-5-4-kalakar (7).jpg
gaijatra-81-5-4-kalakar (8).jpg
gaijatra-81-5-4-kalakar (9).jpg
gaijatra-81-5-4-kalakar (10).jpg
gaijatra-81-5-4-kalakar (11).jpg
gaijatra-81-5-4-kalakar (12).jpg
gaijatra-81-5-4-kalakar (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ