arrow

सामूहिक आमरण अनशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
kamala-river-ansan.jpg

धनुषा । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत धनुषा र सिरहा सीमामा रहेको कमला नदीमाथिको पुल निर्माणको माग गर्दै स्थानीय सामूहिक आमरण अनशनमा बसेका छन्। 

उक्त खण्डको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण अधुरै छ।

ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीका कारण पुल भासिएपछि पुनर्निर्माणका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै १० जना अभियन्ता मंगलबारदेखि सामूहिक आमरण अनशनमा बसेका हुन्। 

इन्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि आमरण अनशन शुरू भएको हो।

हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका इन्जिनियर यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका-६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका-४ का अध्यक्ष सुरेन्द्रकुमार यादव, वर्ल्ड फर नेपालका मनीषकुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका-८ का सदस्य इन्जिनियर रुपेश यादव र इन्जिनियर शिवशंकर यादव र सोही गाउँपालिका-३ का वडाध्यक्ष जीवछ यादव आमरण अनशनमा बसेका हुन्।

गत साउन २७ गते पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई सातदिने ‘अल्टिमेटम’सहित एक सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएपछि सामूहिक अनशन बस्नुपरेको संघर्ष समितिका संयोजक यादवले बताए।

प्रदेश र केन्द्र सरकारलाई पुल निर्माणका लागि बजेटको सुनिश्चितता तथा अन्य समस्या भए तत्काल समाधानका लागि ध्यानाकर्षण गराउन यस्तो कदम उठाउनुपरेको उनको भनाइ छ। 

“हामीले सात दिनभित्रै पुल निर्माण गर्नुपर्छ भनेका थिएनौँ, त्यो सम्भव पनि छैन। यहाँ त कुनै तहका सरकारले पुलका समस्या समाधानका लागि चासो नै देखाएनन्। नजिकको प्रदेश सरकारले पनि हाम्रो मागलाई गम्भीरतापूर्वक लिएन। त्यसैकारण हामी अनशनमा बसेका हौँ,” संयोजक यादवले भने। 

करिब १३ वर्षअघिदेखि निर्माणाधीन कमला नदीमाथिको पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि भासिएपछि हालसम्म पुनर्निर्माण हुन सकेको छैन। भासिएको पुल पुनर्निर्माण गर्दा लाग्ने रकम बीमा कम्पनी वा कसले बेहोर्ने भन्ने विवाद रहेकाले काम अगाडि बढ्न नसकेको ठेकेदार कम्पनीको दाबी छ। जसले गर्दा यहाँका नागरिक कष्टपूर्ण यात्रा गर्न बाध्य छन्।  

अनशनमा बसेकाहरूले यसअघि निर्माण थालिएको पुलको ‘डिजाइन’ नै गलत भएकाले भासिएको भन्दै नयाँ पुल नै बनाउनुपर्ने माग गरिरहेका छन्।

“पुलको पाइल डेप्थ, स्कोर डेप्थ नमिलेको र रिवर ट्रेनिङको डिजाइन गलत रहेकाले समस्या भएको हाम्रो ठहर छ। त्यसैले यहाँ पुरानो पुललाई नै टालटुल गरेर काम अगाडि बढाउनेभन्दा पनि नयाँ पक्की पुल नै बन्नुपर्छ। सरकारले यसको सुनिश्चितता गर्नुपर्छ,” संयोजक यादवले भनाइ छ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशनकारीहरूको मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। उनले यस वर्ष केन्द्र सरकारले पुलको विषयमा ठोस निर्णय नगरे अगामी आर्थिक वर्ष प्रदेशकै बजेटबाट भए पनि पुल बनाउने प्रतिबद्धता व्यक्त गरे।

“हुलाकी राजमार्गअन्तर्गतको कमला पुल केन्द्र सरकारको योजना हो, त्यसैले केन्द्र सरकारले नै यसको समस्या समाधान गर्नुपर्छ भन्ने हाम्रो पनि भनाइ हो,” उनले भने, “संघर्ष समितिले ज्ञापनपत्र बुझाएपछि सोही दिन नै प्रदेश सरकारले केन्द्र सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यक कारबाहीका लागि भनेर लेखि पठाइएको छु तर जवाफ आइसकेको छैन।”

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले भासिएको पुल र नयाँ पुल निर्माण गर्नुपर्ने अवस्थाका बारेमा अध्ययन गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरिसकेको जानकारी दिए।

“प्रदेश सरकारका तर्फबाट गर्न सकिने कामका लागि हामीले अध्ययन गर्ने निर्णय गरिसकेका छौँ। संघर्ष समितिको मागलाई पनि गम्भीरतापूर्वक लिएका छौँ, सोहीअनुसार केन्द्र सरकारका निकायलाई लेखी पठाएका थियौँ तर उहाँहरूले हाम्रो कुरा नबुझेर अनशन शुरू गर्नुभयो, यो राम्रो भएन,” उनले भने। 

आन्दोलनमा यसअघि गठित हुलाकी राजमार्ग संघर्ष समितिका संरक्षक रामरिझन यादव, पूर्वमन्त्री रामचन्द्र झा, सिरहा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य प्रमोदकुमार यादवलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूले समर्थन जनाएका छन्।

यसअघि तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र रघुवीर महासेठले स्थलगत निरीक्षण गर्दै पुल पुनर्निर्माणका लागि ठेकेदारलाई निर्देशन दिएका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ