arrow

युक्रेन द्वन्द्व सुरु भएयता बेइजिङ मस्कोको जीवनरेखा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
putin-2024-05-10.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँग रुसको आर्थिक तथा व्यापारिक सम्बन्धले ‘परिणाम दिइरहेको’ बताएका छन् । क्रेमलिनमा बुधबार चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई स्वागत गर्दै उनले सो कुरा बताएका हुन् । 

युक्रेन द्वन्द्व सुरु भएयता मस्कोले बेइजिङलाई आर्थिक जीवनरेखाका रूपमा हेरेको छ । रुसले पश्चिमी मुलुकहरूबाट ठूलो आर्थिक प्रतिबन्धको सामना गरिरहेको यस अवधिमा दुवै मुलुकबीचको व्यापार उच्च रेकर्डमा पुगेको छ ।

“हाम्रो व्यापारिक सम्बन्ध सफलतापूर्वक विकसित भइरहेको छ, दुवैतिरका सरकारले व्यापार र आर्थिक सम्बन्धमा ध्यान दिइरहेकाले परिणाम प्राप्त भइरहेको छ”, पुटिनले लीसँगको बैठकमा भने, “हाम्रा राज्यहरूले आर्थिक र मानवीय क्षेत्रमा ठूलो मात्रामा संयुक्त आयोजना, परियोजनाहरूमा काम गरिरहेका छन्, हामीले आगामी धेरै वर्षको अपेक्षा गरेका छौँ ।”

मे महिनामा पुटिनले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेका थिए । उनले उक्त साझेदारीलाई अराजक विश्वमा ‘स्थिरता गर्ने’ शक्तिका रूपमा प्रस्तुत गरेका थिए ।

चीन र रुसले सम्बन्ध बनाएर विदेशमा आफ्नो विश्वव्यापी प्रभावको प्रयोग गर्न खोजिरहेकाले पश्चिमी मुलुकहरूले विगत दुई वर्षमा दुवै मुलुकलाई बढ्दो चिन्ताका रूपमा हेरेका छन् । 

सन् २०२२ मा रुसले युक्रेनमा पूर्णस्तरको सैन्य आक्रमण सुरु गर्नुभन्दा केही दिनअघि बेइजिङ र मस्कोले ‘कुनै सीमा नभएको’ साझेदारीको घोषणा गरेका थिए ।

यसैबीच चीनले सस्तो रुसी ऊर्जा आयात र पावर अफ साइबेरिया पाइपलाइनमार्फत स्थिर ग्यास ढुवानीलगायत विशाल प्राकृतिक स्रोतहरूमा पहुँचबाट लाभ हासिल गरेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ